घोराही, १४ असार । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा अज्ञात समूहले सुरक्षाकर्मी र मतदाताहरूलाई लक्षित गरेर फ्याकिएको सुतली बम नेपाल प्रहरीका हवल्दारले हातले छापेर फालेका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
मोटर साइकलमा चढेर आएका अपरिचित समूहले स्कुलको पर्खाल बाहिरबाट सुरक्षाकर्मी र मतदाताहरूलाई लक्षित गरे सुतली बम फ्याकेको थियो । सुरक्षाका लागि नजिकै रहेका प्रहरी हवल्दार दुर्गाबहादुर रानाले आफ्नो ज्यानको प्रवाह समेत नगरेर सुतली बमलाई करिव पचास मिटर टाढा फालेको दाङ प्रहरीले जनाएको छ ।
प्रहरी हवल्दार राना बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका– ३, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका थिए । रानाका कारण सो मतदान केन्द्र ठूलो दुर्घटनाबाट जोगिएको छ ।
दाङका एसएसपी धीरजप्रताप सिंहले अपरिचित आक्रमणकारीहरूले बुधबार बिहान साढे ९ बजे बुथ नै ध्वस्त गर्ने उद्धेश्यका साथ बुथमा बम आक्रमण गरेको बताए ।
मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी करिब २५ जना सुरक्षाकर्मी खटिएका थिए ।
सुरक्षा स्रोतका अनुसार सो मतदान केन्द्रमा सुतली बम आक्रमण गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेको थियो । बम फाल्ने समूहको खोजतलास जारी रहेको भन्द्र दाङ प्रहरीले ती आक्रमणकारीको पहिचान भइसकेको जनाएको छ ।











प्रतिक्रिया