२९ आश्विन २०८३, बिहिबार

ब्राजिलका राष्ट्रपति टेमेअरविरुद्ध भ्रष्टाचारको अभियोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । ब्राजिलका प्रमुख संघीय अभियोजनकर्ताले भ्रष्टाचारको श्रृंखलाबद्ध आरोप खेपिरहेका राष्ट्रपति मिसेल टेमेअरमाथि पहिलो पटक घुस लिएको अभियोग दर्ता गराएका छन् ।

यद्यपी राष्ट्रपति टेमेअरले उक्त मामिलामा आफू निर्दोष रहेको भन्दै पदबाट हट्न अस्वीकार गरिरहेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले राष्ट्रपतिलाई विशेषाधिकारका रुपमा प्राप्त कानुनी छुट दिने या नदिनेबारे निर्क्योल गर्न अब उक्त मुद्दा संसदको तल्लो सदनमा पठाउने या नपठाउने भनेर निर्णय लिनेछन् ।

आफ्नी पूर्ववर्तीलाई महाभियोग लगाएर सत्तामा आएका राष्ट्रपति टेमेअर एक जना बन्दी नेतालाई घुस दिन प्रोत्साहन गरेको अडियो रेकर्डिङ सार्वजनिक भएपछि चर्को आलोचना खेपिरहेका छन् ।

उनले आफूले केही पनि गल्ती नगरेको बताउने गरेका छन् तर ब्रजिलका अभियोजनकर्ता रोड्रिगो ज्यानटले त्यसप्रति असहमति जनाएका छन्।
उनले सोमबार सर्वोच्च अदालतमा एउटा अभियोगपत्र बुझाएका छन् जसमा राष्ट्रपतिले घुस स्वीकार गरेको आरोप लगाइएको छ । र, पहिलो पटक प्रस्तुत गरिएको ठानिएको उक्त अभियोगले राष्ट्रपति टेमेअरलाई अप्ठेरोमा पार्ने देखिन्छ । उनीविरुद्ध आगामी साताहरुमा थप अभियोगहरु लगाइनसक्ने देखिन्छ ।

ब्रजिलको कानुन अनुसार अदालतले देशका राष्ट्रपति विरुद्धको मुद्दामा सुनवाइ गर्नुअघि त्यसो गर्न दिने या नदिने भनेर संसदको तल्लो सदनमा मतदान हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रपति टेमेअरको सत्तारुढ गठबन्धनका नेताहरुले सुनवाइको बाटो खोल्न आवश्यक दुई तिहाइ बहुमत पुग्नबाट रोक्ने पर्याप्त मत संख्या आफूहरुसँग रहेको बताएका छन् ।

अभियोगपत्र दर्ता गराउने आधार बनेको अडियो रेकर्डिङमा टेमेअरले अनियमितताको आरोप खेपिरहेको मासु उत्पादक कम्पनी जेबीएसका अध्यक्ष जोस्ली बाटिस्टासँग घुसकाबारेमा कुराकानी गरिरहेको सुनिन्छ ।

राष्ट्रपति टेमेअर ब्रजिलमा एकदमै अलोकप्रिय छन् तर उनको मध्य दक्षिणपन्थी दलले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ ।

विपक्षी दलहरुले उनी विरुद्ध महाभियोग लगाउन र मध्यावधि चुनाव गर्न माग गरिरहेका छन् । – बीबीसी