महेन्द्रनगर, १३ असार । स्थानीय तहको दोस्रो चरणको चुनाव प्रभावित पार्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले कञ्चनपुरका विभिन्न स्थानमा बम राखेको पाइएको छ ।
असार १४ गते (भोलि) हुने चुनावलाई प्रभावित पार्न विप्लवका कार्यकर्ताले कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिकाको त्रिभुवनवस्तीमा बम राखेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) प्रकाश चन्दले जानकारी दिए ।
उनका अनुसार त्रिभुवनवस्ती स्थित कञ्चन बैंक अगाडि भेटिएको सकेट बम नेपाली सेनाले डिस्फोज गरिसकेको छ ।
त्यस्तै, कृष्णपुर नगरपालिका–२ बंकमा विहान साढे ५ बजे दुई जना अज्ञात व्यक्तिले कुकर बम राखेर फरार भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गमा राखिएको उक्त बम सेना र प्रहरीको संयुक्त टोलीले डिस्फोज गरिरहेको एसपी चन्दले बताए । बम सडकमा राखिएपछि केही बेर यातायात सेवा अवरुद्ध भएको थियो ।
मतदातालाई तर्साउन र निर्वाचनको वातावरण विथोल्ने प्रयासस्वरुप विप्लवका कार्यकर्ताले बम राखेको भन्दै एसपी चन्दले सुरक्षामा कुनै कमी आउन नदिने बताए ।
तस्वीरः डम्मराज भट्ट













प्रतिक्रिया