घोराही, १२ असार । गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ले स्थानीय तहको निर्वाचन बहिष्कार गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा ‘विप्लव’ समूहले निर्वाचन बहिस्कार गर्दैमा कुनै असर नपर्ने बताए । ‘निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने, ‘निर्वाचन बहिस्कार गर्ने ‘विप्लव’ समूहलाई जनताले खिल्ली उडाइदिएका छन् ।’
उनले भने, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईले पनि सुन्नु भएको होला । कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’
गृहमन्त्री शर्माले निर्वाचनको बहिष्कार गरेको दाबी गर्ने राष्ट्रिय जनता पार्टी नेपाल र ‘विप्लव’ समूह निर्वाचनमा भाग लिएको बताए । ‘सबै दलहरूले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएका छन्’, उनले भने ।
बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न ‘विप्लव’ समूहलाई गृहमन्त्री शर्माले चेतावनी दिए । ‘निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले प्रमुख जिम्मेवारी पाएको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिन्छ’ उनले भने ।
मन्त्री शर्माले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरे ।
फरक प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए । ‘राजकुमार श्रेष्ठको खोजी कार्य भइरहेको छ’, उनले भने, ‘प्रहरी सफलता नजिक पुगेको सूचना मलाई दिइएको छ ।’ मन्त्री शर्माले छट्टै अपहरणकारी सार्वजनिक गरिने दाबी गरे ।
व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनामा केही कारणहरू रहेको मन्त्री शर्माले उल्लेख गरे ।











प्रतिक्रिया