९ मंसिर २०८३, बुधबार

चुनावअघि नै वुटवल उपमहानगरपालिका जितेको घोषणा किन गरे ओलीले ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै बुटवल उपमहानगरपालिकामा एमालेको जित भएको घोषणा गरेका छन् ।

असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा आइतबार बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी सभालाई सम्बोधनको सुरुमै ओलीले उपमहानगरपालिकाका एमालेका उम्मेदवारहरु प्रमुख शिव सुवेदी र उपप्रमुख गोमा आचार्यलाई माला लगाइदिए । अनि भने, “यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो विजयको माला कसैले फुकाल्न सक्दैन ।”

पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन उनलाई मतदातालाई आह्वान पनि गरे ।

आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव गरेपनि एमालेको विरोधका कारण स्थगन भएको ओलीको भनाइ थियो ।

पूर्व—पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशमा विश्वविद्यालय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवम् कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको ओलीले बताए ।

विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न एमालेले आग्रह गरेपनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विराटनगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गरे । एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थान पनि महानगर घोषित हुने ओलीको उद्घोष थियो ।

कार्यक्रममा एमाले उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेसँग देश विकासको स्पष्ट अवधारणा रहेकाले देशको विकास र आर्थिक समृद्धिका लागि जनताले एमालेलाई विजयी बनाउने निश्चित रहेको बताए ।

अर्का उपमहासचिव घनश्याम भुसालले एमालेसँग विकासको स्पष्ट योजना रहेको बताउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग सिक्नुपर्ने बताए ।