९ मंसिर २०८३, बुधबार

देउवा भन्छन्– जनता खुसी छन् एमाले गर्ने पार्टी हो भनेर, गौरिगंगामा हामी जित्छौं

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली जिल्लाका अरु स्थानीय तहमा जस्तै गौरीगंगा नगरपालिकामा पनि चुनावको माहोल दिनानुदिन तात्दै गएको छ । गौरीगंगामा नेकपा (एमाले) ले व्यवसायी र सामाजिक पृष्ठभूमीका युवा उम्मेदवार उठाएको छ । युवा र व्यवसायी भएकैले होला मेयरका उम्मेदवार भीम देउवा जिल्लाभरका धेरै उम्मेदवारका भन्दा फरक र व्यवस्थित योजना वनाएर चुनावी मैदान उत्रिएका छन । यद्यपी देउवा विद्यार्थी र पार्टी राजनीतिमा पनि सक्रिय थिए । प्रस्तुत छ देउवाको चुनावी रणनीति र चुनावी एजेण्डामा केन्द्रीत रहेर गरिएको कुराकानीको सारसंक्षेपः

तपाईको व्यवसायी पृष्ठभूमी देखिन्थ्यो एकाएक राजनीतिमा लागेर मेयरको उम्मेदवार पो हुनुभयो कसरी अघि वढीरहनु भएको छ ?

म व्यवसायी हुँ । कैलाली उद्योग वाणिज्य संघको सचिव पनि भैसकेको छु । व्यवसायका साथसाथै एमालेसंग आवद्ध भएर काम पनि गरिहरहेको थिए । स्थानीय तहको चुनाव हुने चर्चासंगै साथीहरुले मलाई चुनाव लड्न सल्लाह दिनुभयो । सायद उहाँहरुले युवा भएकोले केही गर्नसक्छ भन्ने ठान्नु भयो होला । अर्कोतिर व्यवसायीदेखि विद्यालय व्यवस्थापन र सामूदायिक वन क्षेत्रमा मेरो काम हेरेर जिताउन सजिलो हुन्छ भन्ने ठान्नु भएर चुनाव लड्न प्रेरित गर्नु भएको होला । यस क्षेत्रका म भन्दा पुराना नेताहरु पदमसिंह सिङाल, वीरवहादुर मन्नी, वासुदेव गुरागाई जस्ता धेरै अग्रजले मलाई अगाडि वढाउनुभयो । उहाँकै साथ सहयोगले चुनावी प्रचारमा छु । पार्टीको सवै अगुवा उम्मेदवार साथीहरुलाई लिएर सवै घर, टोल, वजारमा गएर जनतासंग मत मागिसकेको छु ।

मतदातालाई आकर्षित गर्ने तपाईका योजना र मुद्धा के–कस्ता छन ?

मैले मुख्यरुपमा अव्यवस्थित वसोवासलाई व्यवस्थित गरेर मुक्त कमैया, सुकुम्वासीलाई जग्गा धनी पूर्जा वितरण गर्ने, विपन्नलाई रासन कार्ड वितरण गरेर प्रत्येक वडामा सुपथ साझा सहकारी पसल स्थापना गर्ने, अव्यवस्थित शहरीकरणलाई नगर गुरुयोजना निर्माण गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गरेर कृषक पेन्सन कार्यक्रम लागू गर्ने,दश किसान एक ट्यूवेल कार्यक्रम सञ्चालन गर्ने, कृषिलाई आधुनिकरण गर्ने, कोल्डस्टोर स्थापना गर्ने, कृषकलाई अनुदान दिने, मल विउविजन सुपथ मूल्यमा दिन विउविजन केन्द्र स्थापना गर्ने, कृषि उत्पादन संकलन केन्द्र स्थापना गरेर कृषकका उत्पादन उचित मूल्यमा खरिद गर्ने योजना वनाएका छौ । यस्तै प्रत्येक वडाका गाउँ टोल जोड्न कल्र्भट, पुल निर्माण गरेर चक्रपथ तयार गरेर नगर यातायात सञ्चालन गर्नेछौ । सडकहरु क्रमिकरुपमा मापदण्ड अनुसार कालोपत्रे गर्ने र ढलनिकास गर्ने योजना छ । नगरका विकास निर्माण कार्यमा महिला सहभागिता अनिवार्यरुपमा ५० प्रतिशत पुगाउने छौ ।

तपाइले जित्नुभयो भने शिक्षा, स्वास्थ्य र सरसफाईका क्षेत्रमा कस्ता काम गर्ने सोच वनाउनु भएको छ ?

सामूदायिक विद्यालय व्यवस्थित गरेर गुणस्तरिय शिक्षाको ग्यारेन्टी गर्नेछौ । सामूदायिक विद्यालयको अवस्था हेरेर प्राविधिक र सीपमुलक शिक्षालयको व्यवस्था गर्नेछौ । प्राविधिक शिक्षामा छात्राहरुलाई ५० प्रतिशत आरक्षण दिनेछौ । मसुरिया, चौमाला र उदासीपुर क्षेत्रका एकएक विद्यालय छनौट गरेर जनतासंग साझेदारी गरेर अन्तराष्ट्रिय स्तरका नमूना विद्यालय सञ्चालन गर्नेछौ । प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य वनाइने छ । खप्तड र चौमाला वहुमुखी क्याम्पसलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्नेछौ । सामुदायिक पुस्तकालय स्थापना गर्नेछौ । थारु वहुल क्षेत्रमा थारुभाषाको पठनपाठनलाई प्राथकिता दिइने छ । वालवालवालिका र युवालाई विभिन्न कुलतवाट मुक्त वनाउने शैक्षिक कार्यक्रम ल्याइनेछ । मसुरिया र चौमालाका स्वास्थ्य चौकीको स्तरउन्नती गरिने छ ।
लामो समयदेखि क्रियाशिल स्वास्थ्य स्वयमसेविकालाई मासिक तलव दिने व्यवस्था गर्नेछौ ।

प्राकृतिक र साँस्कृतिक क्षेत्रमा के काम गर्न आवश्यक ठान्नुहुन्छ ?

ताल तलैया, मठ मन्दिरलाई व्यवस्थित गर्नेछौ । थारु संस्कृतिका होमस्टे सञ्चालन गर्ने सवै जातजातिका संग्राहलय स्थापना गर्ने योजना छ । यी कामले आन्तरिक र वाह्य पर्यटक वढनेछन जसले रोजगारीका साथै नगरको आम्दानी वढ्नेछ । आम्दानी वढ्दा विकासका काम गर्न सजिलो हुनेछ । लिक्मा, कटैनी, गौरीगंगा, अण्डैया, शिवगंगा, चौमाला नदीमा वृहत वृक्षारोपण गर्नेछौ । मटकौना, गौरीगंगा र शिवगंगामा व्यवस्थित शवगृह निर्माण गर्नेछौ । सुन्दर ठाउँमा वनभोज स्थलहरु पनि वनाउने छौ ।

तपाईका योजनाबारे जनताको के प्रतिक्रिया छ ?

जनता खुसी छन एमाले गर्ने पार्टी हो भन्छन । हाम्रो भर र विश्वास छ जनतालाई । हामीले वृद्धवृद्धालाई घरघरमै भक्ता पुगाउने भनेका छौ । युवाहरुलाई विदेश जान रोक्ने कार्यक्रम ल्याउछौ भनेका छौ । जनताको कर जनताकै विकास भन्ने नारा जनताले निक्कै रुचाएका छन । हामीले जनतालाई सूचना दिन एफएम रेडियो र टेलिभिजन पनि सञ्चाल गर्ने भएकोले त्यसले पनि रोजगारी र आम्दानी वढाउने छ । द्धन्द्धपीडित, अपांग, दलित र पिछडिएका समूदायका लागि स्वरोजगारमूलका कार्यक्रम ल्याउने वचन जनतालाई दिएका छौ । सहारा नभएका वृद्धवृद्धा र वालवालिकाका लागि आवास गृह निर्माण पनि हाम्रो प्राथमिकतामा छ । खेल मैदान, कभर्डहल वनाउने छौ । वाल उद्यान पनि हाम्रो योजनामा छ । जनताको सुरक्षाका लागि नगर प्रहरीको गठन गरिने छ । फोहरलाई व्यवस्थापन गरेर जैविक मल वनाउने स्थायी व्यवस्था गर्ने योजना पनि छ ।

धेरै योजना बनाउनु भएको रहेछ जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

गौरीगंगामा नगरपालिकामा हामी जित्नेमा म ढुक्क छु । एमालेको देशव्यापी लहर एकातिर छ अर्कोतिर एमालेले विगतमा गरेका राम्रा काम जनताका मनमनमा छन । अहिलेको नगरमा पर्ने पहिलेका गाविसमा पनि एमालेले जितेको हो । राजनीति गरेको, शैक्षिक क्षेत्र, सामूदायिक वन र व्यवसायमा पनि लागेकोले होला मलाई आम जनताले चिनेका छन । फेरि उपमेयरदेखि वडा अध्यक्ष र सदस्यसम्म हाम्रा उम्मेदवार समावेशी छन ।