काठमाडौं, ९ असार । चुनाव बहिष्कारको घोषणासहित आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।
असार १४ गतेको दोस्रो चरणको चुनावका लागि सरकारले तराई मधेसमा सुरक्षाकर्मी परिचालन गरेकोमा असन्तुष्टि जनाउँदै आएको राजपा नेपालका सह–अध्यक्ष ह्रदय त्रिपाठीले शुक्रबार आफ्नो गृहजिल्ला नवलपरासीमा पत्रकार सम्मेलन गरेर सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका हुन् । ‘सरकारबाट समर्थन फिर्ता लिने तयारी भइरहेको छ,’ उनले भने– ‘समय आएपछि फिर्ता लिएको घोषणा गर्छाैं ।’
सुरक्षाको नाममा सरकारले मधेशमा गरेको ज्यादतीका कारण आफूहरु सरकारलाई समर्थन दिइरहने अवस्था अब नरहेको भन्दै नेता त्रिपाठीले प्रदेश नम्बर ५ मा थारु र मधेस बाहुल्यता क्षेत्रमा व्यापक रुपमा सेना र प्रहरी परिचालन गरेर सरकारले ज्यादति गरेको आरोप लगाए ।
मधेशवादी दलसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा उल्टै सुरक्षाकर्मी देखाएर ज्यादती गरिरहेको भन्दै उनले सरकारको यस्तै रवैया रह्यो भने सरकारबाट समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी दिए । यद्यपी उनले असार १४ गतेसम्म सरकारलाई कुर्ने बताए ।
संविधान संशोधन र स्थानीय तहको संख्या बढाउनुपर्ने माग गर्दै संघर्षमा होमिएको राजपा नेपालको आन्दोलन नियन्त्रण गर्न सरकारले ठूलो संख्या सेना प्रहरी परिचालन गरेको छ । यसमा राजपाले असन्तुष्टि जनाउँदै आएको छ ।












प्रतिक्रिया