काठमाडौं, ९ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताएका हुन् । उनले भने,‘सचिवको सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अडचन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुरुस्तका साथ अघि बढेका छौं, निर्वाचन आयोगले प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन् ।’
यादवले आयोगका सचिवको सरुवालाई आफूहरुले सहज रुपमा लिएको समेत स्पष्ट पारे । उनले भने, ‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ, तर यही असार १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन, आयोगले यसलाई सहज रुपमा लिएको छ, यो एउटा स्वभाविक प्रक्रिया हो, त्यही अनुसार सरुवा भएको हो, मैले ०६३ सालदेखि अहिलेसम्म आयोगमा १३ वटा सचिवहरुको सरुवा भोगेको छु, त्यसैले यो निर्वाचन ऐतिहाँसिक रुपमा सफल हुन्छ, कर्मचारीको सरुवाले निर्वाचनलाई कुनै किसिमको प्रभाव पार्दैन् ।’
यादवले भने, ‘मिडियामा सचिव सरुवाका विषयमा आयोगप्रति विभिन्न टिकाटिप्पणी आए तर आयोगले सचिवको सरुवा गर्ने होइन,’ उनले भने, ‘नेपाल सरकारले निर्णय लिएर सरुवा गरेको छ यसलाई म स्वभाविक रुपमा लिन्छु ।’
दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा
प्रमुख निर्वाचन आयुक्तले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको उल्लेख गर्दै निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनको लागि आम मतदाताहरुलाई आग्रह समेत गरे । उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, आम मतदाताहरुलाई म विनम्र अनुरोध के गर्न चाहन्छु भने निर्भिकतापूर्वक मतदान गर्नुहोस्, एक दिन राष्ट्रको लागि दिनुहोस्, हुन त मतदान गर्ने दिनलाई हामीले एक दिन राष्ट्रलाई दिनुहोस् भनेर अभियान नै चलाएका छौं ।’
यादवले दोस्रो चरणको निर्वाचन अन्र्तगर्त असार १४ गते हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ कुल मतदाता रहेको बताउँदै उक्त निर्वाचनको लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेको पनि जानकारी दिए । पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन धेरै स्थानमा भएकोले त्यही अनुसार जनशक्तिपनि बढि नै खटाईएको उनको भनाई थियो ।
उनले ३० जनामात्रै मतदाता रहेको क्षेत्रमा पनि आयोगले मतदान केन्द्र राखेको उल्लेख गर्दै भने, ‘बाजुरामा जम्मा ३० जनामात्रै मतदाताहरु छन्, हामीले मतदान केन्द्रको राम्रो व्यवस्था गरेका छौं, त्यस्तै ताप्लेजुङमा पनि जम्मा ४० जना मतदाताहरु छन्, त्यहाँ पनि हामीले मतदान केन्द्र राखेका छौं।’
उनका अनुसार असार ४ गते देशभर शान्तिपूर्ण र उत्साहजनक तवरले उम्मेद्धवारी मनोनयन दर्ता भएको जानकारी दिँदै भने,‘देशभरि नै उत्साहजनक रुपमा उम्मेद्धवारी मनोनयन दर्ता भएको छ, यो सफलताको शुभसंकेत हो, मलाई विश्वास छ असार १४ गते हुने निर्वाचन पनि शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न हुन्छ ।’
‘निर्वाचन आचारसंहितामा कडाईका गरिएको छ’
प्रमुख निर्वाच आयुक्त यादवले चुनाव भनेको दलीय प्रतिष्पर्धा भएकोले यसमा निर्वाचन आचारसंहिता उल्लंघन नहोस भनेर आयोगले कडाईका साथ आचारसंहिता पालना भए नभएकोबारे बुझ्न अनुगमन टोली समेत खटाईरहेको बताए । उनले भने,‘आचारसंहिताको परिधिभित्र रहेर खर्च गरेको छ कि छैन भनेर हामीले अनुगमन गरिरहेका छौं।’ उनले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्नको लागि प्रत्येक जिल्लामा सह–सचिवको नेतृत्वमा अनुगमन टोली खटाईएको पनि जानकारी दिए ।
त्यस्तै आयोगले निर्वाचन आचारसंहिता अनुगमनको लागि सुक्ष्म अनुगमन टोली समेत खटाएको जनाए । उनले भने,‘हामीले सुक्ष्म रुपमा अनुगमन टोली पनि खटाएका छौं, त्यस्तै मिडियाले पनि यसबारेमा चनाखो भएर काम गरिरहनुभएको छ, निर्वाचन आचारसंहिता उल्लंघन भएको थाहा पाए आयोगले कडाइएका साथ कारवाही समेत गर्छ।’
‘सुरक्षा प्रबन्ध बलियो छ’
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनकोलागि सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई खटाईरहेको उल्लेख गर्दै भने, ‘सरकारले गम्भिरताका साथ सुरक्षा निकायलाई डिप्लोए गरेको छ, निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनकै लागि गृहमन्त्री जनार्दन शर्माज्यूको नेतृत्वमा सुरक्षा निकायको गोष्ठीहरु समेत बसेका छन् ।’
यद्धपी उनले निर्वाचनको विरोधमा भएका केही पोलिटिकल थ्रेटलाई मध्येनजर गरेर सुरक्षा निकायले त्यस्ता निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा समेत लिएको जानकारी दिए । उनले भने, ‘जनताको मत प्रयोग गर्ने अधिकारलाई अवरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’












प्रतिक्रिया