
– सरगम भट्टराई
यत्रो महानगर बनाउन आएका जनप्रतिनिधिले जाबो एउटा मोबाइलमा यत्रो मोह ! त्यो स्वाभिमान कहाँ घाँस खान गए होला ? एउटा मोबाइल पनि राज्यले किनि दिनुपर्ने ? एक जना प्रतिनिधिहरु पनि यस निर्णय बिरुद्दमा बोलेको देखिएन।
आदरणीय जनसमुदायहरु,
काठमाडौंलाई हामी संसारकै नमुना शहर बनाउँछौ, स्मार्ट सिटी बनाउँछौ, मेट्रो रेल कुदाउँछौ र गर्व गर्ने शहर बनाउँछौ, हराभरा र सुन्दर बनाउँछौ…
बाटो फराकिलो बनाउँछौ, आकाशे पुल बनाउँछौ, ठाउँ ठाउँमा पार्क बनाउँछौ, शिक्षा, स्वास्थ्य र प्रबिधिको केन्द्र बनाउँछौ, बागमतीलाई पुरानै हालतमा ल्याउँछौ, भ्रष्टाचारमुक्त र धूलोरहित काठमाडौं बनाउँछौँ । काठमाडौँलाई साँच्चै सुन्दर बनाउँछौ, हामीलाई जिताउनुहोला । काठमाडौको रुप फेर्नेछौँ आदि आदि…
पाठक वृन्द,
एक महिना पहिले बिद्युतीय मिडिया र अनलाइन मिडियामा मैलेमाथि उल्लेख गरे भन्दा धेरै मिठा र आकर्षक नाराहरु काठमाडौं मात्र हैन्, यत्रतत्र सर्वत्र सुनिएको थियो । अहिले अर्को चरणको चुनाव आउँदै गर्दा पनि त्यस्तै आकर्षक नारा सुनिएकै छ। एक छाडि अर्कोले काठमाडौंको स्वरुप फेर्ने कुरा सुन्दा यस्तो लाग्थ्यो, अब चाहिँ जसले जिते पनि काठमाडौं फेरिने भो, हाम्रो ऐतिहासिक शहर काठमाडौँ नमुना बन्ने भो। मुख र नाकमा डबल मास्क लगाएर हिड्ने धुलोमाण्डु र हिलोमान्डु अब साँच्चैको स्मार्ट सिटी बन्ने भो ! आखिर जनताकै छोराछोरी बोलेपछि नहुने के छ र ? सँधैभरि गल्ती त कसले पो गर्छ र ? अब चाहिँ सबै सुध्रिएछन् है ।
जनताले बडो उत्साहका साथ मत दिए, चुनावी मैदानमा धेरै थिए, तर जित्ने त एउटा पदमा एउटैले थियो, जे होस् धेरै जनताले पत्याएका उमेदवारहरुले जिते । हारेकाहरुमध्ये केहीले जितेकाहरुलाई बधाई दिए, अझ लाग्योस् अहा ! यो पो संस्कार, यो पो सुखद बिहानीको उषा, यो पो नयाँ नेपालको छनक ! म लगायत धेरैको स्वेराकल्पना कति सुन्दर थियो ।
म बबुरो पनि हर्षले पुलकित र पल्लवित भएको थिएँ, मेरो आत्माले यी सबै सकारात्मक परिघटनाहरुलाई राम्ररी नियालिरहेको थियो। परदेशी जीवन छोट्याएर आफ्नै देशको माटोमा पसिना बगाउन जाने अठोट म जस्तै धेरै मनहरुले गरिरहेका थिए।
चुनाव सम्पन्न भएको केही दिनमै एउटा अनलाइन पत्रिकामा समाचार आयोस् स्थानीय बिकास सचिवलाई गाउँपालिका प्रमुखले फोन गरेर बजेट रहेछ क्यारे, गाडी किनौँ कि भनेर सोधे रे ! त्यो पनि दुई बर्ष अघि भूकम्पले नराम्ररी हल्लाएको क्षेत्रका गाउँपालिका प्रमुख, जुन गाउँपालिकाको आफ्नै भवन थिएन, कुनै पूर्वाधार थिएन, जहाँका धेरै जनता घरबारबिहीन थिए आदि आदि… । अनगिन्ती समस्याको चाङको केन्द्रबाट सुबिधा भोगको मागको अनुरोध ! कठै तिनको विवेक !
के महानगरका ती प्रतिनिधिहरु जाबो एउटा स्मार्टफ़ोन किन्न नसक्ने थिए होला र ? के तिनीहरुसँग पहिल्यै कुनै फोन थिएन होला र ? …लाई भन्दा देख्नेलाई लाज भनेको यही होला ।
देश, समाज र राजनीतिबारे राम्रा टिप्पणी मात्रै लेख्छु भन्थेँ । तर, के लेख्नु ? एक महिना पनि नपुग्दै काठमाडौँ महानगरपालिकाको बोर्ड बैठकले एउटा सुन्दै लाजमर्दो प्रस्ताव पारित गरेछ, चालिस जनप्रतिनिधिलाई तीस हजारका दरले स्मार्टफेन किन्न १२ लाख निकासा गर्ने रे ! जनप्रतिनिधिको बैठक भत्ता बढाउने, महिनैपिच्छे मोबाइलको बिल भुक्तानी गर्ने रे…आदि आदि ।
कठै ! मेरो स्मार्ट सिटीको अवधारणालाई एक महिना नपुग्दै स्मार्टफ़ोनले बिषयान्तर गरेछ, धेरैको बिश्वास, धेरैको निष्ठा र धेरैको भविष्यले फेरि मृत्युपथ रोजेछ। यत्रो महानगर बनाउन आएका जनप्रतिनिधिले जाबो एउटा मोबाइलमा यत्रो मोह ! त्यो स्वाभिमान कहाँ घाँस खान गए होला ? एउटा मोबाइल पनि राज्यले किनि दिनुपर्ने ? एक जना प्रतिनिधिहरु पनि यस निर्णय बिरुद्दमा बोलेको देखिएन।
मैले मात्र होइन्, सबै उनीहरुका मतदाताहरुले सोच्दा हुन् – के महानगरका ती प्रतिनिधिहरु जाबो एउटा स्मार्टफ़ोन किन्न नसक्ने थिए होला र ? के तिनीहरुसँग पहिल्यै कुनै फोन थिएन होला र ? हातमा र खल्तीमा दुई दुईवटा मोबाईल बोकेको देखेका जनताहरुले उनीहरुको यो तुच्छपन स्विकार गर्लान् र ? जनताको पसिनाबाट तिरेको कर र बिदेशी ऋण र रेमिट्यान्सको कतिसम्म दुरुपयोग गरेको होला ? …लाई भन्दा देख्नेलाई लाज भनेको यही होला ।
अमेरिकास्थित एकजना मित्रले फेसबुकमा स्टाटस लेखेरै यसको बिरोध गर्नु भयो- स्मार्टफोन चाहिएको भए हामी पठाउँछौ तर देशकै बेइज्जत चाहिँ नगरौँ । खाडीदेखि युरोप, अमेरिका बस्ने हरेक नेपालीहरुले तीब्र बिरोध गरेर लेखेका छन् – ‘स्मार्ट सिटी बनाउने नारा लिएर जनताको पैसाले स्मार्टफोन किन्न पाइदैँन, जनताको बिश्वासको हत्या गर्न पाइदैँन ।’
अझ डर त के कुरामा छ भनेस् यसै गरी देशैभरिका जनप्रतिनिधिहरुले स्मार्टफोन, गाडी किन्दै जाने, तलब भत्ता बढाउँदै जाने तर आफ्ना प्रतिवद्धता भूल्दै जाने हो भने देशको ढुकुटी र जनप्रतिनिधिप्रति जनताको बिश्वास दुबै स्वाहा हुनेछ, अनि हाम्रो गाउँ पसेको सिंहदरबार झन भ्रष्ट भएर निस्कने खतरा छ।
स्मार्टफोन चाहिएको भए हामी पठाउँछौ तर देशकै बेइज्जत चाहिँ नगरौँ ।
मेरो पनि आग्रह छ- नेताज्यूहरु ! स्मार्टफोन हामीले गास काटेर भए परदेशबाट पठाउँला, अरबमा भेँडा चराउनेदेखि तातो फलाम पिट्नेहरुले पठाउनेछन् । तर, स्मार्ट सिटी बनाउने तपाईंहरुको जिम्मेवारी नभूल्नुहोला । आफूले बोलेका प्रतिवद्धता पूरा गर्न चुक्नु भयो भने जनताले फेरि तपाईंहरुलाई पत्याउने छैनन् ।















प्रतिक्रिया