काठमाडौं, ८ असार । बहुचर्चित सुडान घोटाला प्रकरणमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सहित चार जनालाई जेल चलान गरिएको छ ।
पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङ्देन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई जेल चलान गरिएको हो । सर्वोच्च अदालतमा बुधबार दिउँसो आत्मसमर्पण गर्न गएका उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै ती उच्चपदस्थ पूर्वप्रहरी अधिकृतहरूलाई जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याउँदै उनीहरूलाई जेल सजाय र बिगो असुलको फैसला गरेको थियो ।
सर्वाेच्चले पूर्वआईजीपीत्रय राणा, रमेश चन्द ठकुरी र गुरुङलाई दोषी ठहर गरेको थियो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो । अर्का आईजीपी ठकुरी र गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । ठकुरी भने पक्राउ परेका छैनन् ।
यस्तै पूर्वएआईजीद्वय श्यामसिंह थापा र थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वडीआईजी श्रेष्ठ र पूर्वएसएसपी रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो ।
फैसला आएको ६० दिनभित्र आफैं अदालतमा हाजिर भएर फैसला कार्यान्वयनमा सहयोग गरेको अवस्थामा कैद र जरिवानामा २० प्रतिशत छुट हुने व्यवस्था छ । सोही व्यवस्थाको सदुपयोग गर्दै उनीहरूले बुधबार सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका हुन् ।
सर्वाेच्च अदालतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भ्रष्टाचार भएको ठहर गरेको हो । सो प्रकरणमा संसदीय छानबिन समितिसमेत बनेको थियो । त्यसपछि अख्तियारले छानबिन गर्दै २८ करोड ८१ लाख रुपैयाँ मागदाबी गरी २४ जेठ २०६८ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा तीन पूर्वआईजीपीसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको फैसलाले ठेकेदार, उनका प्रतिनिधि र तीन पूर्वप्रहरी प्रमुखबाट १ अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो । विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राइडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो ।
साथै पूर्वप्रहरी प्रमुखहरू ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।












प्रतिक्रिया