
चुनावको तयारी कस्तो हुँदैछ ?
चुनावको तयारी भव्य रुपमा भइरहेको छ । न्यूयोर्कदेखि क्यालिफोर्नियासम्म निकै राम्रोरुपमा अभियान चलिरहेको छ । सबै साथीहरुलाई समेटेर अगाडि बढ्ने काम पनि भइरहेको छ । धेरै साथीहरु उत्साहित हुनुहुन्छ । सबैले नयाँ, सिर्जनशील र गतिशील नेतृत्व आउनुपर्छ भनेर भनिरहनुभएको छ । हौसला दिइरहनुभएको छ । धेरैजनाले फोन गर्नुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ । स्वतःस्फूर्तरुपमा साथीहरु अभियानमा लाग्नुभएको छ । सामाजिक सञ्जालमा पनि अभियान चलाइरहनुभएको छ । त्यसले मलाई उर्जा दिइरहेको छ ।
तपाईंको उम्मेदवारी चाँहि के को लागि ?
अमेरिकामा बसेका नेपालीहरुका लागि एनआरएनले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मैले एजेण्डा बनाएको छु । संस्थालाई गतिशील, पारदर्शी र एकीकृत बनाएर सबै पक्षलाई समेटेर हाम्रो एनआरएन राम्रो एनआरएन बनाउने उद्देश्य लिएको छु । एनआरएन सबैको साझा घर होस्, सबै पक्ष, वर्ग, समुदाय र विचारका साथीहरु समेटिउन्, सबैले मेरो भन्ने धारणाको विकास होस् भन्ने सोच मैले लिएको छु ।
अमेरिकामा मेरो सुरुवात अर्थात चिनारी नै सामाजिक क्षेत्रबाट भएको हो, व्यबसायी भएको त धेरैपछि मात्र हो । नेपाली समाज टेक्ससमा सुरुदेखिनै सक्रिय भएँ । संस्थामा महासचिव र अध्यक्ष भएर कुशलतापूर्बक काम पनि गरेँ । नेपाली समाज टेक्ससबाट मैले सामाजिक क्षेत्रमा यहाँ के आवश्यकता छ र कसरी अघि बढ्नुपर्छ भनेर धेरै कुराहरु सिकेँ ।
तर, मैले कहिल्यै पनि आफूलाई टेक्ससमा मात्रै सीमित राखेको छैन् । अमेरिकामा हुने साना ठूला सबै कार्यक्रममा सहभागी भएको छु, सकेको सहयोग पनि गरेको छु । त्यसैले पनि सबै दाजुभाई, दिदीबहिनीको माया, सद्भाव र ऐक्यबद्धता पाइरहेको महसुस मलाई भइरहेको छ ।
त्यसो भए तपाईंका एजेण्डाहरु भनिदिनुस् न !
मसँग केही भिजनहरु छन् । आगामी दुईबर्षभित्र अमेरिकाको एनआरएनलाई कहाँ पु¥याउने भन्ने स्पष्ट योजनासहित अगाडि बढेको छु ।
२० हजारभन्दा बढी नेपाली भएका अमेरिकाका राज्य तथा शहरहरुमा सांस्कृतिक केन्द्र खोल्ने मेरो योजना छ । मन्दिरसहितको सांस्कृतिक केन्द्रले नेपाल र नेपालीसँग जोड्नेछ । म निर्वाचित भएको ३ देखि ६ महिनाभित्र यो कार्यलाई अघि बढाउनेछु ।
यसैगरी, एनआरएन अमेरिकामा आपत्कालिन कोष स्थापना गर्नुपर्ने देखेको छु । अहिले अमेरिकामा महिनैपिच्छे नेपालीहरु दुर्घटना वा कुनै प्रकोपबाट पीडित हुनुपरेको छ । दुर्घटनाबाट निधन हुँदा होस् या अरु कुनै कारणले उपचारमा समस्या हुँदा होस् त्यस्तो बेलामा सहयोग गर्ने कुनै स्थायी प्रकृतिको कोष छैन । जसले गर्दा पटक पटक चन्दा आव्हान गर्नुपर्ने अवस्था छ । म निर्वाचित भएपछि एकलाख डलरको आपतकालिन कोष खडा गर्ने योजना बनाएको छु । जसबाट बीमा नभएकालाई उपचार गराउनेदेखि लिएर निधन भएकाहरुको दाहसंस्कार, शबलाई नेपाल पठाउने कार्यमा खर्च गर्न सकिनेछ । ताकी पटक पटक चन्दा आव्हान गरिरहन नपरोस् ।
यसैगरी, स्वास्थ्य बिमा र जीवन बिमा नभएका नेपालीहरुलाई सहुलियत दरमा त्यस्तो बिमा लिनका लागि सम्बद्ध निकायहरुसँग पहल गर्ने योजना बनाएको छु ।
धेरै ठाउँमा एनआरएन अमेरिका निष्कृय अवस्थामा छ । अमेरिकाकै स्थानीय संघसंस्था, निकायहरुसँग समन्वय गरेर ‘कम्युनिटी सर्भिस’ का काममा सक्रिय गराउने योजना बनाएको छु ।
अनि ?
अमेरिका र नेपालको स्थानीय निकायबीच मितेरी सम्बन्ध कायम गराउने योजना पनि बनाएको छु । अमेरिकाको कुनै काउन्टी र नेपालको नगरपालिका वा गाउँपालिकाबीच मितेरी सम्बन्ध कायम गराउने, दुई निकायबीच भ्रमण र अनुभव आदान प्रदान गराउने योजना बनाएको छु । यसो गर्दा अमेरिका र मातृभूमिबीच सम्बन्ध जोड्ने काम हुनेछ । दुईवर्षभित्र कम्तिमा पनि दुईवटा सिस्टर सिटी बनाउने मेरो योजना हो । सिस्टर सिटीको अवधारणा कार्यान्वयन हुँदा दुई देशका स्थानीय निकायबीच अनुभव, शीपको आदान प्रदान हुनेछ ।
युवाहरुलाई सक्षम बनाएर उनीहरुलाई अमेरिकामा राम्रो कमाई हुने क्षेत्रमा स्थापित गराउने योजना पनि बनाएको छु । अमेरिकामा धेरै अवसरहरु छन्, हामीले हाम्रो युवापुस्तालाई त्यसमा संलग्न गराउनु अहिलेको मुख्य चुनौति हो । शीप बिकास, नेतृत्व विकासका कार्यक्रममा अघि बढाउने योजनालाई मैले अगाडि बढाउनेछु ।
अमेरिकामा झण्डै एकहजारको हाराहारीमा नेपाली डाक्टर र नर्सहरु हुनुहुन्छ । उहाँहरुलाई पनि एनआरएनको मुभमेन्टमा सकृय बनाउने मेरो योजना छ । बीमा, कर दाखिला लगायतका दैनिक जीवनमा आइपर्ने कार्यहरुका लागि दक्ष नेपालीहरु तयार गर्ने योजना पनि छ । सबै मान्छेले सबै काम गर्न सक्दैनन्, त्यसो हुँदा यस्तो कार्यका लागि नेपालीहरु धेरै भएका शहरहरुमा तालिम दिने योजना पनि मैले बनाएको छ ।
खेलकुद तथा अन्य सिर्जनात्मक काममा नेपाली युवा साथीभाई अगाडि बढाउने सोच लिएको छु । तर, यी सबै तपाईंहरुको माया, सदभाव र ऐक्यबद्धताले मात्र सम्भव छ, जुन मैले अहिलेसम्म पाइरहेको छु । र, आगामी दिनमा पनि पाउने आशा छ ।
तपाईं जित्नेमा ढुक्क हुनुहुन्छ ?
मलाई भाषण गर्न आउँदैन्, धेरै बोल्ने स्वभाव पनि छैन् । जे बोल्छु त्यो पूरा गर्छु । उल्टोपाल्टो गर्ने मान्छे होइन् म । सानैदेखि यही सिकियो । एनआरएनलाई कुन ठाउँमा पु¥याउने, यहाँका नेपालीहरुको चाहना के छ भन्ने राम्रो जानकारी छ मलाई ।
पूर्बीतटदेखि लिएर पश्चिमसम्मका नेपाली दाजुभाईका सुख, दुःखमा मसँधै उहाँहरुकै साथमा छु । त्यसैले पनि मेरो आत्मविश्वास बढेको हो । हिजो एक समाजसेवी एवं नेपाली अगुवाको रुपमा उहाँहरुको माझमा थिएँ, अब एनआरएनको अध्यक्षको रुपमा उहाँहरुको माझमा जाने चाहना छ । अमेरिकाको एनआरएनलाई सबैभन्दा उत्कृष्ट बनाउने योजना छ । किनकी बौद्धिक जमातको बसोबास रहेको अमेरिकाको एनआरएन अन्य देशको तुलनामा कुन अबस्थामा छ, त्यो तुलना तपाईंहरुले नै गर्दा पनि थाहा पाउनुहुन्छ । त्यसैले तपाईं, हामी सबै मिलेर एनआरएन अमेरिकालाई नमुनायोग्य बनाउँ । एनआरएन हाँक्न सक्ने उम्मेदवारका रुपमा धेरैले मप्रति विश्वास देखाइदिनुभएको छ। त्यही नै मेरो आत्मविश्वास हो । धेरैजसो बौद्दिक वर्गका दाजुभाई, दिदीबहिनीहरु बसेको यो देशमा उहाँहरुले सही उम्मेदवार छान्नुहुन्छ भन्ने मैले लिएको छु । उहाँहरुले परिवर्तन चाहनुभएको छु, त्यो परिवर्तन मबाट सम्भव छ भन्ने विश्वास पनि मैले लिएको छु ।
म दुई वर्षभित्र अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएनको सदस्य हुँदा गर्व गर्ने अवस्थाको सिर्जना गर्ने योजनामा छु । म आफू सुरुदेखि भिडेर लागेको छु । म जित्नेमा सुनिश्चित रुपमा उहाँहरुबाट बिभिन्न खालको सहयोग र सल्लाह लिइरहेको छु । त्यसैले पनि उत्साहित छु, विजयी हुनेमा ।
प्रस्तुतिः दैनिक नेपाल डेक्स













प्रतिक्रिया