एजेन्सी । साउदी अरेबियाबाट भारत आउँदै गरेको एउटा विमानमा उड्दा उड्दै नवजात शिशु सुरक्षित रुपमा जन्मेपछि त्यस विमानले बालकलाई जिन्दगीभर निःशुल्क उडाउने घोषणा गरेको छ। नर्सको रूपमा पनि तालिम लिएकी परिचारिका मिनी विल्सनले गर्भवतीको कोखबाट बच्चा जन्मन मद्दत गरेकी थिइन्। गर्भवती भारतकै केरला निवासी हुन्।
आइतबार दमाम सहरबाट भारतको कोचिनका निम्ति उडेको उक्त विमानमा बीचमै यसरी बच्चा जन्मिएको हो। उक्त बोइङ ७३७ विमान जमिनभन्दा ३५ हजार फिट (१० हजार ६ सय ८८ मिटर) माथि उडिरहेको बेला गर्भवती आमालाई सुत्केरी ब्यथाले च्यापेको थियो। इकोनोमी क्लासमा यात्रा गरिरहेको आमाको अवस्था त्यस्तो देखिने बित्तिकै विमानका कर्मचारीहरुले उनलाई फस्र्टक्लासमा लगेका थिए। त्यहीँ बालकको जन्म भएको थियो। बच्चाको जन्म हुँदा विमान पाकिस्तानको आकाशमाथि थियो।
भारत प्रवेश गरेको केही क्षणमै विमान आकस्मिक अवतरण गराइएको थियो। विमान अवतरण गर्ने बित्तिकै आमा र शिशुलाई तत्काल मुम्वईको पश्चिमी भेगमा पर्ने अस्पताल लगिएको थियो।
जेट एयरलाइन्सले यतिबेला आमा र शिशु दुवैको स्वास्थ्य राम्रो रहेको जनाएको छ।
कम्पनीले परिचारिका मिनीलाई पनि तत्काल सक्रियता देखाएर सफलताका साथ सुत्केरी गराएकोमा धन्यवाद दिएको छ। जेट एयरलाइन्सका अनुसार उक्त विमान कम्पनीमा यसरी उड्दाउड्दै शिशु जन्मिएको यो पहिलो घटना हो। त्यस कम्पनीका विमानहरु काठमाडौंबाट पनि भारतीय सहरहरुमा उडान भर्दै आइरहेका छन्।















प्रतिक्रिया