काठमाडौं, ६ असार । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुने बाटो कठिन मोडमा पुगेको छ ।
राजनीतिक दलबलको आडमा सर्वोच्चको प्रधानन्यायाधीश हुने गतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले ब्रेक लगाएपछि उनको नियुक्ति रोकिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
महाराजगञ्जमा राजशी ठाँटमा बसेका पराजुलीको प्रधानन्यायाधीश बनेपछि फुत्किने हाँसो अहिले ओलीको मुट्ठीमा रहेको छ । सोमबारै प्रधानन्यायाधीशको कुर्सी समात्ने योजना बनाएका पराजुलीको चाहना मध्य असारसम्मका लागि रोकिएको छ, ओलीका कारण ।
संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेका थिए । न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफासिर गरेको छ । जसमा पराजुली सबैभन्दा बरिष्ठ हुन् ।
विपक्षी दलका नेता ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि कुनै निर्णय हुन सकेन । स्रोतका अनुसार ओलीले पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेको भन्दै त्यसलाई पहिले टुंगाउनु पर्ने बताए ।
विपक्ष दलका नेताले समय माग गरेकाले प्रधानन्यायाधीश सिफारिसको निर्णय लिन नसकिएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । कामु प्रधानन्यायाधीश भएपछि पराजुलीकै नेतृत्वमा वसेको न्याय परिषद्को बैठकले उनको माग अनुसार उमेर सदर गरेको थियो ।
पराजुलीको उमेर सकारिसकिएको थियो । पराजुलीले आफ्नो जन्ममितिबारे प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अन्यायपूर्ण निर्णय’ गरेको दाबी गर्दै न्याय परिषद्मा उजुरी दिएका थिए ।
आठ पेज लामो उजुरीमा उनले कार्कीले गरेको ‘त्रुटिपूर्ण निर्णय’ सच्याई पछिल्लो नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति कायम गरिदिन न्यायपरिषद्समक्ष आग्रह गरेका छन् । प्रधानन्यायाधीश नै परिषदको समेत अध्यक्ष हुन्छन् ।












प्रतिक्रिया