
– बीबी श्रेष्ठ
अहिले जसरी विजय गच्छदार र उपेन्द्र यादव चुनावी नारा बोकेर जिल्ला जिल्ला कुँदिरहेका छन्, अनि राजपामा जस्तो विद्रोह देखिँदैछ, यी घटनाक्रम हेर्दा भोलि महन्थ ठाकुर र राजेन्द्र महतोहरु तराईबाट लखेटिने संकेत देखिएको छ । अरुले होइन्, यस्तै अबस्था रहे केही समय उनीहरुलाई आफ्नै कार्यकर्ताले लेखेट्ने छन् ।
पुष्पकमल दाहाललाई बिस्थापन गर्दै नयाँ प्रधानमन्त्रीका रुपमा आएका छन्, शेरबहादुर देउवा । पहिलो चरणको चुनाव त सकियो, दोस्रो चरणको चुनावलाई बीच बाटोमै छाडेर प्रधानमन्त्री हिँड्नु संसारमा विरलै हुन्छ । तर, त्यस्तै भयो नेपालमा । एकैपटक चुनाव गर्नुको सट्टा लोकप्रियता पाउने हिसाबले मात्र सजिलो ठाउँमा चुनाव गरेर प्रधानमन्त्रीले छाड्नु आफैमा लज्जाको विषय हो । कि एकैचरणमा चुनाव हुनुपथ्र्यो, कि त दोस्रो चरणको चुनाव ग्यारेन्टी हुनु गरी सारिनुपथ्र्यो । तर, एकाएक चुनाव पटकपटक सारियो । र, चुनावपछि नयाँ नेपालको सपना देखेका नागरिकहरुको सपनामा लात हान्ने काम गरियो । चुनाव गर्न अप्ठेरो अबस्था र त्यसको अपजस आफूलाई आउने कारणले गर्दा नै पुष्पकमल दाहालले हतारहतार प्रधानमन्त्रीको कुर्सी छाड्न तयार भएको रहस्य अहिले बिस्तारै खुल्दैछ ।
प्रधानमन्त्रीको चुनावमा आएर लुरुलुरु भोट हाल्ने, अनि उनै प्रधानमन्त्रीले गर्न लागेको चुनावमा भाग नलिने ? सत्तापक्षमै बस्ने अनि आफै आन्दोलन, हड्ताल र बन्द गर्ने यो कस्तो पारा हो महन्थ ठाकुर, राजेन्द्र महतोहरुको ? संसदको चुनावमा आफूले भोट हाल्ने तर जनतालाई चाँहि मताधिकार प्रयोग गर्न नदिने, अनि आफूलाई मधेशको मसिहा भन्न सुहाउँछ ? करिव ४५ दिन पछाडि सारिएको चुनाव पुन सार्ने प्रस्ताव गरेर राजपाले देशलाई चुनाब नै हुन नदिने र अनिर्णयको बन्दी वनाउने खेलमा लागेको छ भन्ने कुरा वुझन अव गाह्रो छैन ।
राजेन्द महतो, महन्थ ठाकुर, महेन्द्र यादवहरुकै कारण नेपालको राजनीतिमा लामो समयपछि हट्न थालेको बादल पुनः मडारिन थालेको छ । २८३ स्थानमा स्थानीय तहको निर्वाचन भइसकेर जनप्रतिनिधिले काम शुरु गरिसकेता पनि दोश्रो चरणको निर्वाचन हुने स्थानमा अझै पनि के हुने भन्ने कुराले गर्दा जनता भ्रमित बन्न पुगेका छन् । हुन त राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा भाग लिने वातावरण बनाउन भन्दै सरकारले स्थानीय चुनाव सम्वन्धी निर्देशिका सदनवाट परिमार्जन गरेर राजपालाई पनि चुनावमा आउन बाटो खोलेको छ । तर, उनीहरु हलचल देखिएका छैनन्, न त जनताप्रति उनीहरुको केही दायित्व नै देखिएको छ ।
संविधान आफैमा पूर्ण हुँदैन । यो आफै परिवर्तनशील हुन्छ, समयको मागअनुसार परिवर्तन हुने संविधान परिवर्तनका लागि एकमात्र विकल्प भनेको जनतामा गएर एजेण्डा र मतका आधारमा जित हासिल गरेर परिवर्तन गर्ने हो । सर्वस्कीर्य नहुने संविधानमा जति पनि राजनैतिक दलका हस्ताक्षर र सहभागिता रह्यो, त्यसमा सबै पार्टीको सवै मुल्य मान्यता र सिद्धान्तहरु लागू भएनन् । त्यसको मुख्य मर्म समेत नबझी जसरी पनि संविधान संशोधनका रटान लगाइरहँदा तटस्थ जनता र एक्काईसौ शताव्दीको जनताले कसरी लिए होलान भन्ने कुरा राजपा लगायत अन्य चुनावविरोधी दलहरुले हेक्का राख्न जरुरी छ । हरेक उपलव्धि र परिवर्तन एकैचाटी हुन सक्दैन । भएको परिवर्तनलाई आत्मसात गरि समय र जनताको आवश्यकतालाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यो स्वयमसिद्ध तथ्य हो । भुईको टिप्न खोज्दा पोल्टाको पोखिन्छ भन्ने कुरा वुझन नसकेर हो या बुझेर पनि बुझ पचाएर हो राजपाले त्यसको अबमूल्यन गरेको देखिन्छ । जुन देश र जनताका लागि मात्र नभै मधेशी जनताका लागि पनि हानिकारक हुन जान्छ ।
संविधान संशोधन गर्ने, तर के का लागि र कसका लागि ? देश र जनताका लागि होे भने दोश्रो संविधान सभामा भएको जनमतलाई आधार मान्ने कि नमान्ने ? चुनावमा जनताको मन जितेर संसदमा ठूलो दल वन्न नसक्ने अनि संसदवाट संविधान संशोधन नभएसम्म चुनावमा भाग लिँदैन र हुन पनि दिदैनौ भन्ने कस्तो रोइलो हो ? जनताका लागि हो भने अहिले जनताले चुनाव चाहेका छन् । फेरि संविधान निश्चित जिल्ला, भूभाग, टोल र क्षेत्रलाई हेरेर मात्र बनाउने होइन, समग्र देशलाई हेरेर निर्माण गरिने हो । पहाडमा भएको सेवा सुविधा, मधेश र त्यहाँका जनताले पाएका छ कि छैन, मुख्य चुरो कुरो यही हो । संविधानमा समानता हुने अनि मधेश र मधेशी जनता किन र कसरी अधिकारविहीन हुने ? नगर तथा गाउँपालिकाको अध्यक्ष को अधिकार मधेश र पहाडमा फरक छैन । सत्तामा रहेर मधेस र मधेशी जनताका नाममा सिन्कोसम्म नभाँच्ने अनि जनाधार नभएको केही राजनैतिक दल र विखण्डनवादी सोच राख्ने व्यक्तिको इशाराले देश र समग्र जनतालाई नै बन्धक बनाउन मिल्दछ ?
फेरि नेपालको संविधान विश्वको संविधानमा समावेशी, समानता र सहभागिताको सुनिश्चितता गरिएको संविधान हो । छिमेकी देशको तुलनामा नेपालको संविधान धेरै समावेशी र अधिकार सम्पन्न भएको कानुनविद, विश्लेषकले समेत भनेको अवस्थामा अझै पनि अधिकारको नाममा देशलाई नै अनिर्णयको बन्दी बनाउनु भनेको विखण्डनवादी सोच शिवाय केही हुन सक्दैन । यस विखण्डनवादी सोचको सम्पूर्ण जनताले विरोध गर्नै पर्दछ । लोकतन्त्र र गणतन्त्रको दुहाई दिने अनि जनमतको कदर गर्न नसक्नु भनेको कायरताबाहेक केही हुन सक्दैन । यहीले संविधान संशोधन नभई कहिल्यै हुन सक्दैन भन्ने सोचमा रमेका केहि राजनैतिक दलहरुको अधिकार र समानताको नारा केवल खोक्रो मात्र रहेछ भन्ने कुरा छर्लङ्क भएको छ । फेरि मधेशका मत पाएको र जनाधार भएको मधेशी जनाधिकार फोरम र गच्चछदारको लोकतान्त्रिक फोरम समेत चुनावको स्वागत र उत्साहका साथ लागि रहेको सन्दर्भमा सीमित भुगोल र अस्थिरता निम्ताउने, विखण्डन ल्याउने सोच बोकेको व्यक्ति चुनाव विथोल्न लाग्नु र यसैलाई आधार बनाएर सरकारले पुनः चुनाव सार्ने हो भने सरकारको निरिहता, लाचारी र गम्भिर भुल शिवाय केहि हुन सक्दैन ।
डेढ महिना समय सारिसक्दा समेत पुनः निर्वाचनको मिति सार्ने राजपाको नेता राजेन्द्र महतोको अभिव्यक्तिले मुलुकमा चुनाव नै हुन नदिने रणनीतिमा रहेको कुरा पुष्टि गर्दछ । जुन देश र जनताका लागि सवैभन्दा ठूलो घात हुन जान्छ । जनताको मत जितेर आफनो एजेण्डा लिएर जनतामा जाने र जनमत लिएर संसदमा ठूलो दल बनेर संविधान संशोधन गर्नका लागि कसले रोकेको छ राजपालाई ? सँधै सीमित जनतालाई देखाउँदै हत्या, हिंसा र अराजकता निम्ताउनु भनेको निश्चित समयसम्मका लागि त खेल्ने आधार होला, तर त्यो दुश्चक्रले अन्त्मा आफनै विनाश हुने कुरामा कुनै दुविधा देखिदैन ।
२० बर्षपछि हुन लागेको चुनावमा उनीहरुले जसरी भाँजो हालिरहेका छन्, यो उनीहरुकै लागि घातक हो ।
सरकारले वार्तामा बोलारहँदा सरकारसँग वार्ता गर्न नगएर भारतिय राजदूतलाई लैनचौरमा भेटेर रणनीति बनाउने राजपाले देश र जनताका लागि कस्तो अधिकारको कुरा गरिरहेको छ भन्ने कुरा छर्लङ्क भएको छ । देश र जनताका मुक्ति र अधिकारको कुरा गर्ने अनि जनतामा जान डराउने र सानो सानो कुरामा समेत भारतको मुख ताक्ने अनि भन्ने देश र जनताका लागि ? यो संचार र प्रविधिले फड्को मारेको युगमा उचित र अनुचित के भन्ने कुरा जनताले बुझिसकेका छन् ।
यो देशमा न कोही कसैको दास र न कोही जन्मजातै बन्न तयार छन् । उपेन्द्र यादवले भनेझै देशको माटो सम्झेर देशको हित र आवश्यकताका लड्नु नै अहिलेको आवश्यकता हो । न कि भारतको कुरा सुन्ने, नेपाल भन्दा भारतलाई नजिक ठान्ने, देशका कानुन मान्दिन भन्ने, अनि देश र जनताको मुक्तिको नारा भनेको आफनो धरातल गुमाउँदै जानु शिवाय केहि हुन सक्दैन । अहिलेको आवश्यकता भनेको चुनाव शिवाय केही हुन सक्दैन । यस्तो वेलामा आन्दोलन र आम हड्तालले गर्दा फेरि हत्या, हिंसा, अराजकता शिवाय केही हुन सक्दैन । अहिले जसरी विजय गच्छदार र उपेन्द्र यादव चुनावी नारा बोकेर जिल्ला जिल्ला कुँदिरहेका छन्, अनि राजपामा जस्तो विद्रोह देखिँदैछ, यी घटनाक्रम हेर्दा भोलि महन्थ ठाकुर र राजेन्द्र महतोहरु तराईबाट लखेटिने संकेत देखिएको छ । अरुले होइन्, यस्तै अबस्था रहे केही समय उनीहरुलाई आफ्नै कार्यकर्ताले लेखेट्ने छन् । किनकी २० बर्षपछि हुन लागेको चुनावमा उनीहरुले जसरी भाँजो हालिरहेका छन्, यो उनीहरुकै लागि घातक हो ।















प्रतिक्रिया