९ मंसिर २०८३, बुधबार

झलनाथ र माधवले भने- दोस्रो चरणको चुनाव सार्ने प्रस्ताव एमालेलाई स्वीकार्य छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नेकपा एमालेका शीर्ष नेताहरुले दोस्रो चरणको चुनाव सार्ने प्रस्ताव आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएको छ ।

सोमबार ललतिपुरको च्यासलमा प्रदेश नम्बर ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले चुनाव नसार्न सरकारलाई चेतावनी दिए । ‘हामी कांग्रेस–माओवादीलाई भन्न चाहन्छौं चुनावको मिति सार्ने बारे नसोच्नुस्,’ खनाल र नेपालले एकैस्वरमा भने ।

एमाले महासचिव ईश्वर पोखरेलले पनि चुनाव सार्ने प्रस्ताव कुनैहालतमा मान्य नहुने चेतावनी दिए । उनले तोकिएकै मिति असार १४ गते चुनाव सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।

संसदमा एमालेले जित्ने गरि काम गर्न निर्देशन

यसैबीच एमाले शीर्ष नेताहरुले अब आउने प्रदेश र केन्द्रीय संसदको चुनावमा एमालेले जित्ने गरि जनताको काम गर्न निर्देशन दिए । ‘तपाईहरुले जनताको मत जितेर चुनिनुभएको छ । अब काम गरेर जनताको मत एमालेतिर थप्नुपर्छ’ नेता नेपालले भने ।

प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजित कार्यक्रममा नेताहरुले यस्तो निर्देशन दिएका हुन् ।

एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण नगर्ने नेपालले बताए । पूर्व प्रधानमन्त्री नेपालले भने– ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ, नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन ।’

एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले आफ्नो र पार्टीको हित हुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आह्वान पनि गरे ।
सो अवसरमा एमाले महासचिव इश्वर पोखरेलले स्थानीय तहमा निर्वाचित पार्टीका सदस्यहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने तयारी भइरहेको बताए । ‘एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरु स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वा्चित भएका छन् । अब उनीहरुलाई जनप्रतिनिधिको भूमिकामै बढि केन्द्रित गर्न पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने गरी छलफल भइरहेको छ,’ उनले भने ।