सिराहा, २८ जेठ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले तराई मधेसमा नेकपा एमालेलाई पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
युवा संघ नेपाल केन्द्रिय अभियानअन्तर्गत आइतबार सिराहा बजारमा आसन्न दोस्रो चरणको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने उद्देश्यका आयोजित कार्यक्रममा युवा संघ र एमालेको झण्डा युवा संघ सिरहा जिल्ला अध्यक्ष बैजनाथ साहलाई हस्तान्तरण गर्दै अध्यक्ष पहारीले एमाले जित कुनै हालतमा नरोकिने बताउनुभयो ।
निर्वाचन विरोधी गतिविधि र मतदाताको सुरक्षाको व्यवस्था मिलाउन युवा संघ जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिनुभयो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिराहा इन्चार्ज लिलानाथ श्रेष्ठले तराईको बिकासमा केपी शर्मा ओलीले महत्वपूर्ण नेतृत्व गर्नु भएकोले एमाले तराई मधेसमा पहिलो पार्टी हुने विश्वास व्यक्त गर्नुभयो ।
एमालेका सिरहा पार्टी अध्यक्ष प्रमोद यादवले एमालेले गरेको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र तराईमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
युवा संघका स्थायी कमिटी सदस्य एवं दोस्रो चरण निर्वाचन सगरमाथाका उत्पेरक प्रभात बिक्रम कटवालले युवा संघ नेपालले तराईको बिकास, तराईको मुद्दालाई स्थापित गर्ने र त्यसलाई कार्यान्वयन गर्नमा महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले संघका अध्यक्ष राजीव पहारी, पार्टी नेता लिलानाथ श्रेष्ठ, प्रमोद यादब लगायत नेताहरुलाई उत्पेरकको हैसियतले धन्यवाद तथा आभार ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा युवा संघ नेपालका सचिवालय सदस्यहरु रमेशकुमार आचार्य, निरेशलाल सिंह, राममणी मिश्र, केन्द्रीय सदस्य रवीन्द्र साह, नवीन यादव, राजेश साह लगायतले सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता बैजनाथ साह र सञ्चालन इन्द्रेस राउतले गर्नु भएको थियो ।















प्रतिक्रिया