– सञ्जिला मोक्तान तामाङ
फन्ट परिवर्तन गर्नुहोस:
स्थान टियु सेन्ट्रल डिपार्टमेन्ट अफ सोसियोलजीको प्राङगण । हामी ४/५ जना साथीहरु कक्षा सकेर घामको न्यानो ताप्दै गफिदै थियौ । त्यसैक्रममा एक जना साथीले सोधिन्, ‘तिम्रो तिर कोठा खाली छ ?’ मैले भने, ‘कसलाई चाहियो र ?’ साथीले जवाफ फर्काइन्,‘मलाई ।’
अर्की साथीले थपिन्, ‘तँलाई कति कोठा चाहिएको, अस्ति भरखर कोठा स-या होइन, कति चराले गुड सा-या जसरी कोठा सा-या ?’ प्रतिउत्तरमा कोठा आवश्यक परेकी साथीले भनिन्, ‘मेरो कोठाको व्यथा तिमीहरुलाई के था ।’
कुरा हो घरबेटी र बहालमा बस्नेको बीचको सम्बन्ध । घरबेटीले सबै कुराको निगरानी गर्न थालेपछि कसरी स्वतन्त्रताको अनुभूति गर्ने । खाने, बस्ने, सुत्ने, हिड्ने, ट्वाइलेट, वाथरुम आदि सम्पूर्ण कृयाकलापमा घरबेटीको हस्तक्षेप भएपछि त्यो कोठा हुने हो की जेल ?
हो यस्तै समस्यामा परेकी छिन् उनी । घरको नियम यसप्रकार थियो, भित्ताले सुन्लाकी जसरी विस्तारै हिड्नु पर्ने, भूईमा एक थोपा पानी पनि खसाल्न नहुने, झ्याल ढोका बन्द वा खुल्ला गर्दा आवाज आउन नहुने, कोठामा सँधैभरी कानेखुसी गरेर कुरा गर्नु पर्ने, ठूलो स्वरमा बोल्न नमिल्ने । कोठमा सामान धेरै राख्न नपाइने, आफन्त ल्याउन नहुने, घरभाडा मसान्तको दिन बुझाउनै पर्ने, अझ अग्रिम भूक्तानी गर्नु पर्ने, कोठमा साँझ नपर्दै छिरी सक्नु पर्ने आदि आदि ।
उनले सुरुमा त सर्त मञ्जुर गरिन्, किनकी उनलाई कोठा अत्यावश्यक थियो । दिनहरु बित्दै गए तर उनलाई उकुसमुकुस महशुस हुन थाल्यो । जेलभित्रको बन्दि जस्तो आफूलाई महसुस गर्न थालिन् । घरबेटीको रातदिनको कचकच बिग्रिएको रेडियोको भन्दा बढी सुनिन लाग्यो । कहिले यो भयो, कहिले ऊ भयो यस्तै यस्तै…आदि इत्यादी । बहालमा बस्दा पनि केही भन्लान की, केही गर्लान की भनि डराएर बस्नु पर्ने बाध्यता थियो । कोठामा बस्नै नसक्ने अवस्था आएपछि अन्तिममा उनी कोठा अन्तै सार्ने निधोमा पुगिन् । उनकै शब्दमा भन्ने हो भने घरबेटीले हिटलरकै रुप धारण गरेपछि उनी अन्यत्र सर्ने निष्कर्षमा पुगेकी थिइन् ।
उनी एक प्रतिनिधि पात्र हुन् । वास्तवमा भन्ने हो भने सहरमा बहालमा बस्नेहरु सबैको कोठाको व्यथा यस्तै यस्तै हुने गर्दछ । थोरैको मुखबाट मात्रै राम्रो छ भन्ने सुन्न पाइन्छ । त्यसमा प्राय घरबेटी र घरको नीति नियम पर्दछ । अधिकाँशले यस्तै समस्या सहेर बस्नु पर्ने बाध्यता छ । यसले के देखाउछ भने अधिकाँश बहालमा बस्नेहरु धेरै मानसिक पीडाबाट गुज्रि रहेका हुन्छन् ।
बस्नको लागि बास त आवश्यक पर्छ नै । यो बाध्यता पनि हो । आफ्नो घरजस्तो अरुको घर काहाँ हुन्छ र । त्यो स्वभाविक हो । तर कम्तिमा पनि न्युनतम रुपमा मानवीय व्यवहार त गरिएको हुनु पर्यो नी । मानिसले हरेक कुरामा सम्झौता गर्नु पर्छ । तर त्यो सम्झौता कुन तहसम्म, हदसम्म गर्ने भन्ने कुरा आउँछ ।
प्राय घरबेटीहरुले गर्ने व्यवहार देख्दा लाग्छ, हामी ताल्चा हौँ चावी घरबेटी । उनीहरुले जतिबेला चाह्यो त्यतिबेला हामी खुल्नु पर्छ । हामीलाई खुल्ला छोड्ने वा बन्द गर्ने कुरा उनीहरुको अधिकारको विषय हो । मानौँ कोठा लिएर बस्नेहरु उनीहरुको अनुग्रहमा बसेका छन् ।
टैङ्किमा पानी सकियो वहालवालाई दोष, सेफ्टी ट्याङ्की भरियो वहालवालाई दोष, कतै फोहोर भयो वहालवालाई दोष । मानौ वहालवालाहरु सबै राक्षस हुन्, उनीहरुले त्यो स्वर्गतुल्य घरलाई नरक बनाई रहेका छन् ।
अहिलेत सहरमा कतिपय घरहरु वहालमा नै लगाउने उद्देश्यले बनाइएको हुन्छ । सकेसम्म साना कोठा, उज्यालो छिरोस् नछिरोस्, केही मतलव हुँदैन, छिडिँमा अलिकति ठाउँ निस्किए पनि एउटा कोठा बारी हाल्ने, सुरक्षाको कुरामा कुनै वास्ता छैन । एकजना मान्छे हिँड्दा पनि ठोकिएला की जस्तो प्यासेज, जतिसक्दो धेरै कोठा । त्यस पछि कोठामा मान्छे धेरै भो, सामान धेरै भयो । एकजना बसे यति, दुई जनालाई उति…घरलाई पुरै व्यवसाय नै बनाएको अवस्था छ ।
कस्तो मान्छेलाई कोठा वहालमा दिने भन्ने पनि आआफ्नै प्रचलन रहेछ । महिलालाई हत्तपत्त बहालमा राख्न नमान्ने, किनकी महिलाहरु अशुद्ध हुन्छन् रे । पानी बढि प्रयोग गर्छन्, फोहोरी हुन्छन्, कपाल जताततै झार्छन्, लुगा बढि धुन्छन रे । अझ बच्चा भएका महिलाले कोठै नपाउने । बच्चाले हल्ला गर्छ, फोहोर गर्छ, के के हो के के ? त्यस्तै कोठा खोज्न जाँदा कतिपय ठाउँमा कुन जातको भनि सोधिने रहेछ । कथित ठुलो र सानो जातबीच विभेद कायमै छ । त्यसको मतलव कथित दलित समुदायलाई पनि नराख्ने । किनकी उनीहरुलाई छुन नहुने जातको रुपमा चित्रण गरिन्छ ।
यो लिङ्ग र जातको आधारमा गरिएको विभेद हो कि हैन ? यस्तो विभेद गर्ने माथि दण्ड सजाय गर्ने व्यवस्था खै । हुन त घर व्यक्तिको सम्पत्ति हो, तर त्यो भाडामा लगाउने भन्ने वित्तिकै सार्वजनिक सम्पत्ति पनि हो । यसमा विभेद गर्नेलाई अहिलेसम्म दण्ड भएको छ त ? हुन त सबै घरबेटीहरु एकै नासका हुँदैनन् । कोही दयालु स्वभावका हुन्छन्, सहयोगि पनि हुन्छन् । तर आममा हेर्दा सहयोग गर्ने, समस्या बुझ्ने खलाका मानिसहरु कम देखिन्छन् । कतिपयको व्यवहार त निन्दनिय र निकृष्ट खालकै हुन्छ ।
विशेषत नेपालीहरु सामन्तवादबाट पुँजीवाद तर्फ उन्मुख हुँदै गएका छन् । पैसामुखी मानसिकताले ग्रसित हुँदै गएका छन् । हरेक कुरालाई पैसाँसँग साटिरहेका छन् । त्यसैको परिणाम मानविय सम्बन्ध सोझै अर्थसँग गाँसिन लागेको छ । हामी आधुनीकतालाई पछ्याउँदैछौँ, तर सामन्तवादी सोचलाई पनि छाड्न सकेका छैनौँ । घरधनी र डेरावालको सम्बन्ध यहीनेर जोडिएको छ ।
राज्यले धेरै कुराको मापदण्ड बनाएको छ । तर कोठा भाडामा लगाउने घरको मापदण्ड खै ? कोठामा बस्ने मानिसहरु सुरक्षित हुनु पर्दछ । उनीहरुले आफूले पैसा तिरेर बस्ने कोठामा पाउनु पर्ने आधारभूत सुविधा कम्तिमा के के हुनु पर्ने त्यस बारेमा राज्य बोल्नु पर्दैन ? कोठामा बस्ने मानिसले तिर्नु पर्ने भाडाको निर्धारण र भाडावृद्धि घरबेटीको मुखमा हुन्छ वा त्यसको पनि कुनै वैज्ञानिक आधार हुनुपर्छ । यस बारेमा राज्य बोल्नु पर्दैन ? भाडामा लगाउने घरको कति कोठाबराबर कतिवटा शौचालय हुनुपर्ने त्यो निर्धारण गर्नुपर्दैन ? घरवाहाल कर बाहाल लिए अनुरुपको जम्मा गरेको छ कि छैन, अनुगमन गर्नुपर्दैन ? घरधनीहरु सँधै साँढे भई रहने अनि वहालवालाहरु सँधै वाच्छा नै हुनु पर्ने ?




प्रतिक्रिया