१५ कार्तिक २०८३, आइतबार

ब्युटीपार्लरमा काम गर्न पुगेकी महिलालाई…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुधाबी (दुबई), २७ जेठ  ।  आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ ।

घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र हेर्नुपर्ने सोचमा पनि परिवर्तन हुनथालेसँगै रोजगारका लागि स–साना बालबच्चालाई छाडेर बिदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

रोजगारको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै तीनसयभन्दा बढी छ ।

कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् । सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली नै हुन् भनेर ठम्याउन मुस्किल पर्छ ।

पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि बिदेसिनु भएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आउनुभएको थियो । एयरपोर्टको शौचालयमा भेटिनुभएकी हँसिली निरु नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै हुनुन्थ्यो ।

किन बिदेसिनुभएको भनी सोध्दा उहाँले हाँस्दै भन्नुभयो, “दुबई आई ब्युटीपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।”

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिर्नुभएकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने रहेछ भन्नुहुन्छ । “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्न”, उहाँले भन्नुभयो ।

हालैको भ्रमणका क्रममा भेटिनुभएकी उहाँ शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भए पनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिनुभएको थियो । “आराम गरे तलब आउँदैन घर फर्कौँ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन ।

ओभरटाइम पनि गर्नैप-र्याे । धन्य यहाँ भित्रका अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाउनुभयो ।
अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै तीन सयको हाराहारीमा रहेको बताइन्छ ।

नाम नलेख्नू है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “एयरपोर्ट बाहिर त पुरुषकै सङ्ख्या बढी छ यहाँ नेपाली पुरुष २५० जना छन् तर महिला त्यसभन्दा बढी छन् ।’’