३० आश्विन २०८३, शुक्रबार

त्यसै जितेको होइन् एमालेले

39.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सविन प्रियासन

नेपालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन भएको छ । पहिलोचरणमा भएको स्थानीय तहको निर्वाचनमा जनताको अपार सहभागी हुनु र त्यसपछि मतपरिणाम सुन्नका लागि आतुर देखिने कुरालाई दृष्टिगत गर्दा निर्वाचनको महत्व र सान्दर्भिकता अपार छ भन्न सकिन्छ । यतिबेला पहिलो चरणको निर्वाचन अन्तरगत मतगणना करिब-करिब अन्तिममा पुगेको छ । निर्वाचनको मतपरिणाम हेर्दा मुख्य ठूला दलहरुको वर्चश्व देखा परेको छ । खासगरी सत्तामा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र अनि प्रतिपक्षमा रहेको नेकपा एमालेले धेरै स्थानमा जित हात पारेका छन् । स्थानीय निर्वाचनले नेकपा एमालेलाई ठूलो दलको रुपमा उभ्याइदिएको छ ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले राम्रो मतपरिणाम ल्याएको थियो । त्यसपछि स्थानीय निकायको निर्वाचन हुन सकेन । संसदीय निर्वाचनमा २०५४ सालपाछि एमाले ह्वात्तै तल झर्यो । संविधानसभाको पहिलो निर्वाचनमा त झनै एमाले यसरी तल झर्यो कि जसको लेखाजोखा गरेर साध्य छैन । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनदेखि पहिलो संविधानसभा निर्वाचनको अवधिसम्म नेकपा एमाले पछाडि पर्नुमा धेरै कारणहरु छन् । पार्टीमा विभाजन आउनु, राजाको शाही कदमलाई सही ढंगबाट विश्लेषण गर्न नसक्नु, माओवादीको प्रभावलाई कम गर्नका लागि ठोस योजना बनाउन नसक्नु, गाउँमा भत्किएको संगठन बिस्तारमा ध्यान नदिनुलगायतका थुप्रै कारणहरुले गर्दा एमाले २०५४ सालपछि क्रमशः खस्कदै गएको हो । पहिलो संविधानसभा निर्वाचनको मतपरिणामले एमालेलाई गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न बाध्य बनायो । यी सबै कुराहरुलाई मनन गर्दै एमालेले संविधानसभाभित्र जनअपेक्षा अनुरुप भूमिका निर्वाह गर्यो । यसैगरी सत्तामा रहँदा होस् वा बाहिर जनताकै चाहना अनुरुप एमाले अगाडि बढ्यो, जसले गर्दा एमाले दोस्रो संविधानसभामा हाराहारीमा पहिलो स्थानमा आउन पुग्यो । दोस्रो संविधानसभा निर्वाचनपछि पनि एमालेले सरकारमा बसेर जनपक्षीय असंख्य काम गर्नुका साथै अहिले प्रतिपक्षमा बसेर पनि जनताको आकांक्षा अनुसार काम गरिरहेको छ । जसले गर्दा सत्तागठवन्धनको कडा एकताबीचमा पनि एमाले पहिलो स्थानमा आउन सफल भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्व र नीतिका कारण एमाले अहिलेको अवस्थामा जबरजस्तरुपमा स्थापित भएको छ ।

स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचन भएको जिल्लाहरु एमालेको खासै पकड भएका जिल्ला होइनन् । तर पनि एमाले पहिलो भयो । यस हिसाबले दोस्रो चरणको निर्वाचनमा एमालेले धेरै स्थानहरुमा जित्ने पक्कापक्की छ । खस्किएको धरातलभित्र प्रभावशाली बन्नका लागि एमाले नेतृत्व, यसका नेतागणहरुले ठूलो त्याग, समर्पण गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुशल नेतृत्व र नीतिका कारण एमाले अहिलेको अवस्थामा जबरजस्तरुपमा स्थापित भएको छ । एमाले किन र कसरी बलियो भयो भन्ने कुरालाई आत्मसात गर्दै अन्य दलहरुले पनि यो कुरालाई मूल्यांकन गर्दै अगाडि बढ्न सकेको खण्डमा भोलीका दिनमा अवश्य पनि राम्रो मतपरिणाम ल्याउनेछन् ।

स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो चरणको निर्वाचन भएको जिल्लाहरु एमालेको खासै पकड भएका जिल्ला होइनन् । तर पनि एमाले पहिलो भयो । यस हिसाबले दोस्रो चरणको निर्वाचनमा एमालेले धेरै स्थानहरुमा जित्ने पक्कापक्की छ ।

एमालेले पछिल्लो समयमा देशको स्वाधिनता, समृद्धि, जातजातीबीचको एकतालाई जनचाहना अनुरुप आत्मसात गरेको छ । जनता स्वाभिमानी बनेर बाँच्न चाहन्छन् । मुलुकभित्रको एकता बलियो होस् भन्ने पक्षमा जनता छन् । मुलुकको समृद्धिले व्यापकता पाओस् भन्ने पक्षमा जनता छन् । यी सबै कुरालाई एमालेले एकताबद्ध बनाएर अगाडि बढाएको छ । सत्ताकै लागि मरिहत्ते गर्दै देश र जनता माथि कुठाराघात हुने कुनै पनि काम पछिल्लो समयमा एमालेले गरेको छैन । जसले गर्दा एमाले जनताको मनमनमा बसेको छ ।

नेपालमा प्रजातन्त्रको उदय भएपछि २०५० सालसम्म कांग्रेसको नेतृत्वमा मुलुक अगाडि बढ्यो । २०४७ सालमा धेरै हदसम्म जनताको पक्षमा लेखिएको संविधान बन्दा बन्दै पनि कांग्रेसले ५० सालसम्म जनपक्षीय कुनै पनि कार्य गर्न सकेन । जसका कारण एमाले २०५१ सालमा ठूलो पार्टी बन्न पुग्यो । ठूलो पार्टी भएर पनि वहुमत नल्याएका कारण एमालेले ९ महिना मात्र सरकार बनाउन पायो । एमालेले ९ महिने शासनकालमा यति धेरै सुधारका कामहरु गर्यो कि जसको बलमा एमाले जनताको मनमनमा रहन पुग्यो । लोककल्याणकारी राज्यको अवधारणा अन्तरगत एमाले सरकार अगाडि बढ्यो । जसले गर्दा २०५४ सालको स्थानीय निकायको निर्वाचन एमालेको पोल्टामा पर्यो । त्यसपछि एमाले विभाजनको शिकार बन्यो । तर पनि त्यस अवधिमा बनेका सरकारले जनपक्षीय खासै काम गर्न सकेनन् ।

– सविन प्रियासन

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले चमत्कारीपूर्ण जीत हात पारेपनि जनताको मन जित्ने सवालमा माओवादी कमजोर देखियो । जसले गर्दा माओवादी दोस्रो संविधानसभा निर्वाचनमा निकै तल ओर्लियो । कांग्रेस र एमालेले राम्रो मत ल्याए । जितको आधारमा भन्नु पर्दा कांग्रेस पहिलो पार्टी बन्यो । तर कांग्रेसले संविधान निर्माणदेखि सत्ताको नेतृत्व गर्दा समेत दोस्रो संविधानसभा निर्वाचनपछि नेतृत्वको भूमिका निर्वाह गर्न सकेन । जसले गर्दा जनताले स्थानीय निकाय अन्तरगत पहिलो चरणको निर्वाचनमा कांग्रेसलाई सन्तोषजनक मत दिएका छैनन् । खरो ढंगबाट भन्नु पर्दा कांग्रेस पहिलो शक्ति हुँदा हुँदै तेस्रो शक्तिसँग तालमेल गर्दै ठूला शहरहरुमा मुख्य पद त्याग्ने स्थितिमा पुगेको छ । यसबाट पनि एमाले बलियो शक्तिका रुपमा स्थापित भएको छ भन्ने पुष्टि हुन्छ ।

एमाले अहिलेको अवस्थामा त्यतिकै आएको होइन । त्यसैले यसलाई चमत्कार भन्न मिल्दैन् । यो एमालेको स्वभाविक जित हो । मुलुकलाई स्वाभिमानयुक्त बनाउँदै समृद्ध बनाउने जग बसाउँदै एमाले अगाडि बढेकाले मुलुकलाई सही तवरबाट एमालेले नै नेतृत्व गर्न सक्छ भन्ने छाप एमालेले जनताको मनमा बसाल्न सकेको छ । जसले गर्दा स्वतन्त्र मतदाताहरु एमालेलाई भोट गर्न लालायित छन् । स्थानीय निकायको निर्वाचनमा एमालेले धेरै ठाउँमा जित्ने छ । स्थानीय निकायको निर्वाचनको मतपरिणा हेर्दा संघ र प्रदेशमा पनि एमालेले धेरै सिट जित्ने देखिन्छ । तसर्थ जनताले एमालेलाई विश्वास गरेर जिताउने काम गरेका छन् । अब एमालेले आफूलाई अझै सुधार गर्दै मुलुकको समृद्धिलाई उचाई दिने सवालमा, मुलुकको स्वाभिमान बचाउने कुरामा विशेषरुपमा ध्यान दिनुपर्छ । जिति सकेपछि मात्तिने प्रवृत्तिका कारण नेपालमा सधैभरी एउटै पार्टी मात्र ठूलो भइरहेको इतिहास छैन । एमाले पनि पुरानै इतिहास कायम गर्न चाहन्छ कि नयाँ इतिहास कायम गर्दै आउँदा दिनमा पनि अहिलेको अवस्थालार्इ वर्करार राख्न चाहन्छ त्यो उसको कामले देखाउँनेछ । मुलुकले विकास खोजी रहेको छ, समृद्धि खोजी रहेको छ । सधैभरी अभाव, बेथिति, बेरोजगारीमा बसिरहनुपर्ने बाध्यताबाट मुक्ति खोजी रहेको नेपालले एमालेको जीतबाट लाभ उठाउन सक्छ कि सक्दैन हेर्न बाँकी छ ।

स्थानीय निकायको निर्वाचनमा एमालेले धेरै ठाउँमा जित्ने छ । स्थानीय निकायको निर्वाचनको मतपरिणा हेर्दा संघ र प्रदेशमा पनि एमालेले धेरै सिट जित्ने देखिन्छ ।

निर्वाचन लोकतन्त्रको आधार हो । निर्वाचनमा सहभागि भैसकेपछि जित हार स्वाभाविक छ । नेपालको राजनीतिक बृत्तमा सधैभरी एउटैले जित्ने अनि एकै थरिका मान्छे खुशी भएको इतिहास छैन । यस अर्थ अहिलेको स्थानीय निकायको निर्वाचनको मतपरिणामलाई स्विकार गर्दै अरुलाई गाली गलौजमा उत्रनु भन्दा सधैभरी हाँस्ने काममा अहिले देखि नै जुट्दा आफू, समाज, जिल्ला अनि देशलाई लाभ हुनेछ । स्थानीय निकाय अन्तगर्त पहिलो चरणको निर्वाचनमा बिजयी हुने सबैलाई राम्रो कामको लागि शुभकामना । दास्रो चरणको निर्वाचन स्वस्थ, शान्त तवरले सम्पन्न हुन सकोस् । जित्नेहरुले आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमान्दारि पूर्वक निर्वाह गर्न सकुन् । हार्नेहरु पनि समाजमा राम्रा कामहरु गर्दै आउँदा दिनमा जित्ने तयारीमा जुट्न सकुन् । स्थानीय तहको निर्वाचनसंगै संविधान कार्यान्वयनको चरणमा मुलुक प्रवेश गरेकाले सबैसबैलाई शुभकामना ।

लेखक प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।