काठमाडौं, ८ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले पछिल्लो अवस्थाका विषयमा छलफल गर्न संसदीय दलको बैठक आज बोलाएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो साढे एक बजेपछि बस्ने बैठकमा स्थानीय तहको निर्वाचन, संसदको बजेट अधिवेशन र समग्र राजनीतिक विषयमा छलफल हुने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘आजदेखि संसदको बैठक सुरु हुँदैछ । अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुन्छ’, उनले भने ।
स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै संसदीय छानविन समिति गठनको माग गर्दै आएको एमालेले संविधान संशोधनका साथै स्थानीय तहको संख्या थप्ने सरकारको तयारीको पनि विरोध गरिरहेको छ । सो विषयमा पनि संसदीय दलमा छलफल हुनेछ ।
एमालेले सरकारलाई महाभियोग प्रस्ताव फिर्ता लिनका लागि दवाव दिनुका साथै स्थानीय तहको दोस्रो चरण निर्वाचन अगाडि बजेट ल्याउन नदिने पक्षमा छ ।











प्रतिक्रिया