काठमाडौं, ६ वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा धाँधली भएको ठहर गर्दै संसदीय छानविनको माग गरेको छ ।
काठमाडौंको धुम्रबाराहीमा शनिबार बसेको स्थायी समितिको बैठकले निर्वाचनका बेला सत्तारुढ दलहरूले शक्तिको दुरुपयोग गरेर विभिन्न स्थानमा धाँधली गरेको आरोप लगाएको हो ।
बैठकपछि जारी एमालेको विज्ञप्तिमा भनिएको छ, ‘हालै सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका विभिन्न भागमा सत्ता संरक्षित अराजनीतिक गतिविधि तथा धाँधलीका बारेमा छानविन गर्न र दोषीउपर कारवाही गर्न तत्काल संसदीय समिति निर्माण गर्न बैठकले माग गरेको छ ।’
एमालेले सरकारका तर्फबाट व्यवस्थापिका संसदमा दर्ता गरिएको राष्ट्रहित विपरित तथा औचित्यहीन संविधान संशोधन विधेयक फिर्ता लिन माग गरेको छ । उसले प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गरी राजनीतिक सहमतिको वातावरण निर्माण गर्दै दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउन सरकारको गम्भीर ध्यनाकषर्ण गरेको छ ।
स्थायी समितिले दोस्रो चरणको निर्वाचनका लागि अविलम्ब उम्मेदवारको निर्णय र सिफारिस गर्न मातहत पार्टी कमिटीलाई निर्देशन गरेको छ र साथै पहिलो चरणका अनुभवबाट शिक्षा लिँदै पार्टीको विजयका लागि थप उत्साह र एकताबद्ध रुपमा अघि बढ्न सिंगो पार्टीपंक्तिलाई आह्वान गरेको छ ।
बैठकले पहिलो चरणको निर्वाचनका घटना र अनुभवबाट शिक्षा लिंदै स्थानीय औचित्य र आवश्यकताको आधारमा पार्टीको नेतृत्वसँग समन्वय गरी चुनावी ताममेल गर्नसक्ने अधिकार स्थानीय पार्टी कमिटीहरुलाई प्रदान गरेको छ ।
‘वैशाख ५ गते रसुवा जिल्लाको गोसाइकुण्ड वडा नं. ५ स्याफ्रुबेसीका एमालेका समर्थक फुर्पु साङ्वो तामाङलाई केही अपराधिक व्यक्तिहरुले ज्यान लिने उद्देश्यले आक्रमण गरी घाइते बनाएको र स्थानीय जनताको सहयोगमा ती अपराधीहरुलाई गिरफ्तार गरी प्रहरीसमक्ष बुझाएको तर उनीहरुलाई प्रहरीको सहयोगमा भगाइएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उक्त घटनाका अपराधीहरूलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न र घाइतेको उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।











प्रतिक्रिया