३० आश्विन २०८३, शुक्रबार

…जसले चुनाव हारेर पनि ठूलो दिल देखाए

54.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शारदा गैरे

काठमाडौँ, ६ जेठ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदैछ । मतपरिणामलाई लिएर बिभिन्न ठाउँमा तनाव पनि भएका छन् । तर, केही यस्ता पात्रहरु पनि छन्, जसले मतपरिणामपछि सहर्ष हारमात्रै स्वीकारेनन्, आफ्नो दर्द लुकाएर प्रतिद्धन्द्धीको गलामा अबिर र माला पहिराउने महानता देखाए ।

उच्च राजनीतिक संस्कार र नैतिकताको महानता देखाउने त्यस्ता केही उम्मेदवार हुन्, स्याङ्जाको चापाकोट नगरपालिकाका डा. बुद्धिमान श्रेष्ठ, तनहुँको भानु नगरपालिकाकी उम्मेदवार भगवती न्यौपाने र लमजुङको बेसीशहर नगरपालिकाका मेयरका उम्मेदवार भेषबहादुर पौडेल ।

…

जेठ ३ गते साँझ जब स्याङ्जाको चापाकोट नगरपालिकाको मतपरिणाम सकियो । डा. बुद्धिमानले आफ्ना प्रतिस्पर्धी शिवकुमार गिरीलाई उठेर खादा र मलाई लगाइदिँदैं बधाई दिए । र, कार्यकाल सफल पार्न सक्दो सहयोग गर्ने बाचा गरे ।
चापाकोट नगरपालिकाको मेयरमा ९ सय ८१ मत बढी ल्याएर काँग्रेसका शिवकुमार गिरी एमालेका श्रेष्ठसँग विजयी भएका थिए । गिरी काँग्रेसका महासमिति सदस्य हुन भने डा. श्रेष्ठ काठमाडौंको धापासीस्थित कान्तिपुर डेन्टल कलेज तथा अस्पतालका संस्थापक अध्यक्ष हुन् । मेयरमा विजयी गिरीले ५ हजार ९ सय ८९ र निकटतम प्रतिस्पर्धी डा. श्रेष्ठले ५ हजार ८ मत पाएका थिए ।

‘चापाकोट नगरलाई समृद्धि बनाउन मेरो आवश्यकता परेको बेलामा म जतिबेला पनि उपस्थित हुन्छु, पार्टीभन्दा माथि उठेर मेरो सहयोग रहनेछ । मेरो आवश्यकता परेको बेला सम्झनुस्’ पराजित डा. श्रेष्ठले विजयी गिरीलाई यसो भनिरहँदा काँग्रेस र एमाले दुबै पार्टीका कार्यकर्ता भाबुक बनेका थिए ।

….

यस्तै, महानता र आदर्शको विराट रुप देखाइन, तनहुँको भानु नगरपालिकाकी मेयरकी उम्मेदवार भगवती न्यौपानेले पनि । उनले आफ्नो दर्द लुकाएर प्रतिद्धन्द्धीको गलामा अबिर र माला पहिराउने महानता देखाइन् ।

एमालेकी नेतृ न्यौपाने करिब ५ सय मतले काँग्रेसका उदय गौलीसँग पराजित भएकी थिइन् । झिनो मतले पराजित भए पनि उनले धैर्यता गुमाइनन् ।  ‘कतैबाट भएको कमजोरी भोग्ने हामी भइयो, तर धैर्यता गुमेको छैन । जनताको साथ थियो, समर्थन र सहयोग थियो । कार्यकर्ताको खटाईलाई हेर्दा सायद कुनै दलसँग तुलना गर्नै मिल्ने थिएन । हारको महसुस छैन्, जित भएको नै ठानेको छु ।’, न्यौपाने भन्छिन्- ‘संघर्ष जारी नै रहनेछ, जीवन त सुम्पिएकै छु, सुम्पिरहनेछु । सम्पूर्ण मतदातासँग माया साँट्न आउनेछु तपाईंको गाउँबस्तीमा ।’

गौलीले ९ हजार ५ सय ३८ र निकटतम प्रतिस्पर्धी न्यौपानेले ९ हजार ६४ मतले पराजित भएकी हुन् ।

…

यस्तै उच्च संस्कार र फराकिलो मन देखाउने काँग्रेसका मेयरका उम्मेदवार हुन्, बेसीशहर नगरपालिकाका भेषबहादुर पौडेल । जेठ ४ गते साँझ जब मतपरिणाम आयो, सबैभन्दा पहिलो उनी आफैले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका गुमानसिं अर्याललाई खादा लगाउँदै जितको बधाई दिए ।

काँग्रेस लमजुङका सभापति समेत रहेका पौडेल एमालेका जिल्ला उपाध्यक्ष एवं बेसीशहर गाविसका पूर्वअध्यक्ष अर्यालसँग २९७ मत अन्तरले पराजित भएका थिए । अर्याल ७६२४ मत ल्याएर विजयी हुँदा पौडेलले ७३२७ मत पाएका थिए ।

मतपरिणामको अन्तिम समयसम्म पनि बेसीशहरस्थित सभाहलमा बसेका पौडेलले अर्याललाई बधाई तथा शुभकामना दिँदै गर्दा त्यहाँ उपस्थित सबै भाबुक बनेका थिए । मेयरका विजेता अर्यालले मिलेर नै बेसीसहरलाई नमुना नगरपालिका बनाउने बताए ।

चुनाव त आउँछ, जान्छ । तर, यस्तै उच्च राजनीतिक संस्कार देखाउनेहरुले नै नेपालको राजनीतिमा केही राम्रा संस्कारका संकेतहरु देखाइदिएको छ ।