९ मंसिर २०८३, बुधबार

अख्तियारमा आए अर्का विवादास्पद लोकमान ! रिट र उजुरी एकसाथ परेपछि सुनुवाई स्थगित

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका कायम मुकाय प्रमुख आयुक्त दीपकुमार बस्न्यात निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीजस्तै विवादमा परेका छन् ।

उनको शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि आज हुने भनिएको संसदीय सुनुवाई पर्सी (आइतबार)सम्मलाई स्थगित भएको छ ।

यसअघि तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य ठहर गर्दै संसदबाट महाअभियोग लगाइएको थियो भने सर्वाेच्च अदालतले हटाइदिएको थियो ।

उनी हटेपछि कामुको जिम्मेवारी सम्हाल्दै आएका दीपकुमार बस्न्यातलाई संवैधानिक परिषद्ले केही दिन अगाडि अख्तियारको प्रमुख आयुक्त बनाउने निर्णय गर्दै सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पठायो । संवैधानिक परिषद्को सिफारिसपछि संसदीय समितिले सुनुवाई प्रक्रिया सुरु गर्दै सार्वजनिक सूचना प्रकाशित गरी बस्न्यातविरुद्ध उजुरी आह्वान गर्यो ।

त्यसपश्चात समितिमा प्रकाश अधिकारीको नामबाट गम्भीर प्रकृतिको उजुरी आयो । जसले बस्न्यातको योग्यतामाथि नै प्रश्न उठादिएको छ । यसअघि योग्यताको प्रश्नकै कारण लोकमान पदबाट निलम्बनमा परेका बेला अख्तियारमा नियुक्ती प्रक्रियामा रहेका बस्न्यात पनि विवादमा परेका हुन् ।

उजुरीकर्ता अधिकारीले बस्न्यातले २० वर्षे सरकारी सेवामा दुई वर्ष जागिर गरेको र त्यही दुई वर्षमा भारतमा पढेको विवादास्पद तथ्यसहित उजुरी दिएका छन् । बस्न्यातको शैक्षिक योग्यतामा एमकम गरिएको भनिएको छ । तर, के विषयमा गरे, मेजर विषय के भन्ने नै उल्लेख छैन् । संवैधानिक प्रावधानअनुसार जे विषयमा विज्ञतामा हो त्यही उल्लेख गर्नुपर्दछ । तर, बस्न्यातको शैक्षिक प्रमाणपत्रमा त्यो उल्लेख नभएको भन्दै उजुरीकर्ताले उजुरी दिएका छन् ।

यस्तो गम्भीर प्रकृतिको उजुरी आएपछि संसदीय समितिले सुनुवाईका लागि बस्न्यातलाई आज बोलाएको थियो । बस्न्यात समितिको बैठकमा सहभागी पनि भए । तर, समितिले आज सुनुवाई गर्न सकेन् । बस्न्यातलाई फिर्ता पठायो ।

शैक्षिक योग्यता विवादमा बस्न्यातविरुद्ध सर्वाेच्च अदालतमा समेत रिट दायर भएकाले सुनुवाई समितिले आइतबारसम्मलाई सुनुवाई स्थगित गरेको स्रोतले बतायो । ‘यदि अहिले नै सुनुवाई समितिले सुनुवाई गरेर बस्न्यातलाई प्रमुख आयुक्त बन्न बाटो खोलिदियो भने विवाद आउनसक्छ,’ समितिका एक सांसदले भने– ‘भोलि अदालतले अयोग्य पनि ठहर गर्न सक्छ । त्यो बेला झन संकट आउँछ । त्यही भएर आज सुनुवाई स्थगित गरियो ।’