काठमाडौं, ३० वैशाख । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मौन अवधिमा विशेष पत्रकार सम्मेलन गरेपछि निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले एमालेका अध्यक्ष ओलीले शनिबार अपरान्ह पार्टी मुख्यालय धुम्रबाराहीमा गरेको पत्रकार सम्मेलनका विषयमा आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिएका छन् । एमालेको पत्रकार सम्मेलनका विषयमा के गर्ने भनेर आन्तरिक परामर्श भइरहेको उनले पत्रकारहरूको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेर सत्तारुढ दलहरूले आचार संहिता उल्लंघन गरेको आरोप लगाएका थिए । उनले आयोगको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।
प्रमुख आयुक्त यादवले भने, ‘यो निर्वाचन आचारसंहिता विपरित हो, पत्रकार सम्मेलनमा पत्रकाहरूपनि जान हुँदैन्थ्यो ।’
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलनलाई लिएर आयोगका पदाधिकारीहरूबीच आन्तरिक छलफल भैरहेको बताए ।
मैनालीले भने, ‘मौन अवधिमा पत्रकार सम्मेलन गर्न मिल्दैन, यो आचारसंहिता विपरित छ, यसका बारेमा हामी अहिले छलफल गर्दैछौं, कारबाही हुन्छ ।’















प्रतिक्रिया