पोखरा, ३० वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा बम विस्फोट गराइएको छ ।
केही अपरिचित व्यक्तिले शुक्रबार राति विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।
निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ । बम विस्फोट गराइएको विद्यालयमा वडा नं. ६ को मतदान केन्द्र राखिएको छ ।
उता, चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनल नजिकै नेपाली कांग्रेसको सम्र्पक कार्यालयको आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान निस्क्रिय (डिस्पोज) गरेको छ ।
भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा शनिबार बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ ।
धनगढीको व्यस्त बजार ट्राफिक चौराहामा प्रेसरकुकरमा खतरा लेखिएको अवस्थामा र मनहेरा बजारको सडक छेउमा बोराभित्र प्रेसरकुकर बम फेला परेपछि स्थानीयवासी त्रसित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले निर्वाचनको विरोध गरिरहेको विप्लव मओवादीका कार्यकर्ताले आतङ्क फैलाउने उद्देश्यले यी दुई ठाउँमा बमजस्तो देखिने शङ्कास्पद वस्तु राखेको हुनसक्ने बताए ।











प्रतिक्रिया