काठमाडौं, २९ वैशाख । जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन मधेसकेन्द्रीत दलले सरकारलाई ७ वटा सुझाव दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन सहज नदेखिएको भन्दै सरकारले ७ वटा काम गर्नुपर्ने बताए ।
‘यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन सफल बनाउनको लागि जनताहरुको उत्साहजनक सहभागिता देखिएको छ । जनतामा अहिले व्यापक उत्साह छाएको छ,’ उनले भने- ‘यद्धपी जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन सहज छैन् । सरकारले केही कामहरु तत्कालै गर्नपर्छ ।’
यादवले दोस्रो चरणको निर्वाचनलाई सहज र सरल बनाउनको लागि सरकारले ७ वटा कामहरु गर्नुपर्ने भन्दै सुझावहरु अघि सारेका छन् ।
उनले अघि सारेका सुझावहरुमा तराई/मधेशमा छुटेका मतदाताहरुको नाम रेजिष्ट्रेशन गर्नुपर्ने, निर्वाचनमा भाग लिने वातावरण बनाउनको लागि जेठ ४ गते वा यसकै आपसपासमा संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्ने, मधेशमा आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहाई गर्नुपर्ने, मुद्दा फिर्ता गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्ने, चुनावपछि मात्रै बजेट ल्याउनुपर्ने र निर्वाचनजस्तो राजनीतिक झगडामा नेपाली सेनालाई उतारेर दुरुपयोग गर्न नहुने रहेका छन् ।
यादवले सकेसम्म भोलि नै यी कामहरु मन्त्रिपरिषदबाट गराउनको लागि सरकारसँग आग्रह गरे ।












प्रतिक्रिया