९ मंसिर २०८३, बुधबार

भरतपुर पुगेर ओलीले दिए कांग्रेस कार्यकर्ताको मनछुने भाषण, झोक्राएर नबस्न आह्वान

15k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीसामु लम्पसार पर्दापर्दा सत्तारूढ दलका नेताहरुको घुँडामा घाउ नै घाउ भएको बताएका छन् ।

‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन लम्पसार परेकाहरूको घुँडामा टाटैटाटा परेका छन्,’ एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै भने– ‘कांग्रेसले नाम्लो लगाएर माओवादीलाई बोकेर हिँडेको छ ।’

ओलीले सशस्त्र द्वन्द्वकालमा चितवनकै बाँदरमुढेमा ४० जना निर्दोष नागरिकको ज्यान जाने गरी माओवादीले गराएको नरसंहारको पनि स्मरण गर्दै अगाडि भने–‘बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन् । माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै पनि सुम्लाका डाम छन् ।’

ओलीले भरतपुर महानगरमा माओवादीसँग गरिएको गठबन्धनतर्फ इंगित गर्दै कांग्रेस कार्यकर्ताहरूलाई अब झोक्राएर नबस्न पनि आग्रह गरे । माओवादीले युद्धका नाममा नेपाली युवाहरुको भविष्य र समय बर्बाद बनाइएको भन्दै अध्यक्ष ओलीले त्यसतर्फ चनाखो बन्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउदै छन्’, ओलीले कटाक्ष गर्दै भने– ‘त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’

एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर

यस्तै, अध्यक्ष ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताए । एमाले राष्ट्रिय एकताका पक्षमा र राष्ट्रिय पहरेदारका रुपमा रहेको उनको भनाई थिया ।

चुनावमा सरकार धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै उनले प्रजातान्त्रिक मूल्यमान्यता विपरीत धाँधलीका काम भैरहेको जिकिर गरे । ‘जेठ १५ गते बजेट आउने, जेठ १५ भन्दापछि चुनाव गर्नुपर्ने, चुनावी बजेट सस्तो लोकप्रिय बजेट जारी गर्ने, अनि चुनाव गर्ने, यो धाँधली हो कि होइन ?’ नेता ओलीले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री ओलीले आफूहरुले चुनावमा निष्पक्षता चाहेको बताउँदै प्रशासन र अदालतलाई आतङ्कमुनि राख्ने प्रयास भइरहेको भनी सरकारको आलोचना गरे । अध्यक्ष ओलीले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै दुःख व्यक्त गरे ।

सभामा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरमा एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरका उम्मेदवार दिब्या शर्मा र जिल्ला सचिव पार्वती रावल लगायत बोलेका थिए ।