८ मंसिर २०८३, मंगलबार

घलेगाउँलाई संसार चिनाउने प्रेम घले चुनावी मैदानमा

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रेम घले पर्यटकीय घलेगाउँका अभियन्ता हुन् । आज घले गाउँले जसरी देश/विदेशमा ख्याति कमाएको छ, त्यससँग प्रेमको पसिना र रगत जोडिएको छ । उनले आफ्नो ज्यानलाई समेत दाउमा राखेर सार्कको नमुना पर्यटकीय गाउँ बनाउन सफल भए । जहिल्यै सबल गाउँको सपना देख्ने प्रेमले फेरि एक पटक गाउँको नेतृत्व गर्ने अविभारा लिएका छन् । गविस अध्यक्षको अनुभव लिइसकेका प्रेमले यसपालिको स्थानिय तहको निर्वाचनमा  क्होंलासोंथर गाउँपालिका लमजुङको अध्यक्षको लागि एमालेबाट आफ्नो उमेद्वारी दिएका छन् । गुरुङहरुको उद्गमस्थल क्होंलासोंथर । त्यही नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । घलेगाउँलाई जस्तै क्होंलासोंथरलाई संसारभर चिनाउने सपना छ, प्रेम घलेको । उनै प्रेमको दर्दनाक र प्रेरणादायी जीवनः

जुप्प परेको घलेगाउँ एक सय २० भन्दा बढी घर थिएनन् । सेतो हिमालको छेकोबाट रातो सूर्य देखिनुअगावै गाउँलेले गाउँ छोडिसक्थे । गाउँलेलाई हिमाल हेर्नुभन्दा वनपाखा र बेँसीमा पुग्न हतार हुन्थ्यो । खेतीयोग्य जमिन नहुनाले हातमुख जोड्नका लागि घन्टौँ हिँडेर बेँसीमा पुग्नुपथ्र्यो ।

विकासको कुनै संकेत देखिएको थिएन । गाउँलाई माया गर्नेभन्दा माया मार्नेहरू बढ्दै थिए । लाहुरे भएर पल्टनबाट ल्याएको पैसा बेँसीसहर, चितवन, पोखरा, काठमाडौंमा खन्याउन सुरु भइसकेको थियो । अलिअलि पैसा हुनेलाई घलेगाउँ मसानघाटजस्तै लाग्न थालिसकेको थियो । बसाइँसराइँ यति तीव्र हुन थाल्यो कि, घलेगाउँ करिब–करिब गरिबहरूको बस्तीजस्तै बन्न पुग्यो ।

सबै माया मार्नेहरू मात्र हुँदैनन्, माया गर्नेहरू पनि हुन्छन् । कोही–कोही त माया गर्न सिकाउने पनि हुन्छन् । गाउँको मायाले सिमलाबाट लाहुरे नभई भागेर गाउँ आएका प्रेम घलेलाई यो दृश्यले भतभती पोलेछ । कोही गाउँबाट निस्कियो भने, प्रेमलाई भन्न मन लाग्थ्यो, ‘गाउँलाई छोडेर नजानु न ? हामी सँगै मिलेर बसौँला । बरु ऐँचोपैँचो गरेर दुई छाक टारौँला ।’ तर, उनीसँग बोल्ने आँट थिएन । उनी खुसी खोज्न गाउँ छाडेकाको टाउको नपुरिएसम्म हेरिराख्थे । उनले गर्न सक्ने भनेको यत्ति थियो । किनकि उनी गाउँ बनाउने सपना देख्न थालेका थिए ।

यही कुराले उनको मनमा चैन थिएन । उनले गाउँ छोडेर जानेहरूको पीडामा दुःख उत्सव गरेर मात्र बसेनन् । बरु बसाइँसराइँ कसरी रोक्न सकिन्छ भन्ने कुराले प्रेमको माथिंगल रिंग्याउन थाल्यो । उनी सोच्थे, ‘आफ्नै जन्मथलोमा बसेर दुईछाक खान पाए, जन्मथलो छाड्दैनथे कि ।’

प्रेम गाउँलेलाई गाउँमै खुसी राख्ने बाटोहरू खोज्न थाले । उनलाई सुनेको कुरा याद अयो । त्यतिवेला पनि स्याङ्जाको शिरुबारी उत्तिकै चर्चामा थियो । शिरुबारीले पर्यटकीय गाउँको रूपमा ख्याति कमाइसकेको थियो । शिरुबारीको प्राकृतिक सुन्दरता र संस्कृतिले गाउँलाई सम्पन्नतातिर उकाल्दै थियो । ‘घलेगाउँलाई शिरुबारीजस्तै बनाउन सकिँदैन ?’ एकदिन प्रेमले आफैसँग प्रश्न गरे ।

तर, घलेगाउँलाई शिरुबारी बनाउन त्यति सजिलो थिएन । गाउँलेलाई पर्यटक भनेको के हो भन्नेसम्म पनि थाहा थिएन । अर्कोतिर, सशस्त्र द्वन्द्वमा रहेको माओवादीको बिगबिगी । घलेगाउँ वरिपरिको क्षेत्र माओवादीको हेडक्वाटरजस्तै थियो । उसको विरोधमा काम गर्नेले सासको आस मारे पनि हुन्थ्यो ।

उता घलेगाउँका संस्कृतिहरू पनि बाँकी थिएनन् । घाटो नाच हराइसकेको थियो । रोधी त माओवादीका डरले पनि सकिए । कृष्ण चरित्रलाई मानिसहरूले उच्चारण गर्न पनि छाडिसकेका थिए । यिनै थिए घलेगाउँका मुख्य संस्कृति । अब भने पुराना संस्कृतिका अवशेष पनि बाँकी थिएनन् । थियो त त्यही हिमाल अनि गाउँलेको निराशा ।

तर, प्रेमले एकाएक पर्यटकीय घलेगाउँको कल्पना गर्न थाले । भएका संस्कृतिलाई पुनर्जन्म दिने संकल्प गरे र अगाडि बढ्ने दुस्साहस गरे।

प्रेमका साथी थिए, भुवनसिंह गुरुङ । उनी पर्यटन मन्त्रालयको उपसचिव पदसम्म पुगिसकेका थिए । प्रेमले भुवनलाई भेटे । ०५७ सालतिरको कुरा हो । प्रेमले भुवनलाई त्यही प्रश्न गरे, जुन कुराले प्रेमको माथिंगललाई कैयौँ दिनदेखि ह्याङ बनाइरहेको थियो । ‘शिरुबारी कसरी पर्यटकीय गाउँ बन्यो ?’

संयोग, भुवनको ससुराली शिरुबारी रहेछ । शिरुबारी पर्यटकीय गाउँ बन्नुमा भुवनको पनि ठूलो हात रहेछ भन्ने प्रेमले चाल पाए । खासमा शिरुबारीमा गुरुङका संस्कृतिले मानिसलाई आकर्षण गरेको रहेछ । शिरुबारीमा टोनी पार्क नाम गरेकी अस्ट्रेलियन नागरिकले प्याकेजमा पर्यटक लैजाँदिरहिछन् । प्रेमले हतारिँदै भने, ‘मलाई पनि टोनी पार्कसँग भेटाइदिनुप-यो ।’ प्रेमले टोनीलाई आफ्नो गाउँमा लिएर जाने कारणबारे पनि प्रस्ट पारे ।

भुवनले सहयोगमा कुनै कुन्जुस्याइँ गरेनन् । टोनीको कार्यालय राजधानीको नक्सालमा रहेछ । उनी नक्सालमै पुगेर टोनीलाई सबै कुरा बेलीविस्तार लगाए र ६ दिनको वर्कपरमिट बनाइदिए ।

प्रेमले टोनीलाई गाउँ लिएर गए । घलेगाउँमा विदेशी नागरिक पुगेको सायद पहिलो थियो । ‘गाउँ देखेर टोनी निकै खुसी भए,’ प्रेमले सम्झिए, ‘रक्सी खुब खाँदिरहिछन् । डाँडामा बसेर हिमाल हेर्दै रक्सी चढाइन् । मैले पनि चाहेजति खुवाइदिएँ । अन्त्यमा उनले तपाईंको गाउँ पर्यटकीय नगरी बन्न सक्छ भनिन् ।’

यसलगत्तै प्रेम लोप भइसकेका संस्कृतिलाई पुनर्जीवन दिन कस्सिए । पुराना मान्छेहरूलाई मनाउँदै घाटो नाच जगाए । कृष्णचरित्र नाच पनि तयारी भयो । ती नाच पोखराको एक कार्यक्रममा प्रस्तुत गरे । घलेगाउँ उत्कृष्ट भयो । नाच देखिपछि टोनी गद्गद् भइन् र भनिन्, ‘तपाईहरूसँग सबै चिज रहेछ, अब त्यहाँ पर्यटक लैजान सुरु गर्नुपर्छ ।’

उनले निरन्तर गोष्ठीहरूमा सहभागिता जनाउन थाले । जसले प्रेमलाई अत्मविश्वास थप्ने काम गरिरह्यो । प्रेमले सोचे, ‘गाउँ नै गाउँले भरिएको देशमा पर्यटकहरू सहर केन्द्रित मात्र भएका छन् । ती पर्यटक पहुँचवाला र धनीमनीको हातमा छन् । पर्यटक गाउँ उक्लन सकेका छैनन् । हामीसँग हिमाल, संस्कृति, संस्कार छ । ती पर्यटकलाई गाउँ लैजान सकियो भने बिस्तारै गाउँको जीवनस्तर उठ्छ । हामीले हाम्रो अर्गानिक खानाहरू बेच्न सक्नुपर्छ । यदि हामी त्यसतर्फ लाग्न सक्ने हो भने सहरका पर्यटक बिस्तारै गाउँतर्फ आकर्षित हुन्छन् ।’

प्रेमको आत्मविश्वासले गाउँमा पर्यटन समिति गठन भयो । पर्यटन समितिसँगै ०५७ मा प्रथम घलेगाउँ महोत्सव आयोजना गरियो । गाउँमा माओवादी युद्धको त्रासदी भए पनि प्रेमको ध्यान त्यता थिएन । महोत्सव आयोजना घोषणासँगै माओवादी कार्यकर्ताले प्रेमलाई अपहरण नगरेका पनि होइनन् । माओवादीलाई प्रेमले भनेछन्, ‘हामीले कुनै नराम्रो काम गर्न लागेका होइनौँ । तपाईहरूले देशलाई परिवर्तन गरेर नयाँ नेपाल बनाउछाँै भन्नुभएको छ । हामी पनि गाउँमा विकास गरौँ कि भनेर लागेका हौँ ।’ प्रेमका कुरा क्रान्तिमा होमिएको माओवादीलाई चित्त बुझेछ । महोत्सव सम्पन्न भयो ।

ललितकला क्याम्पसका चित्रकार आलोक गुरुङले प्रेम र गाउँवासीको सहयोगमा घलेगाउँमा तीनदिने कलामहोत्सव पनि सम्पन्न गरे । महोत्सवअघि र पछि गाउँमा यस्तो रौनक छायो, लाग्थ्यो गाउँलेको अरू कुनै काम नै छैन । के बूढाबूढी, युवायुवती सबै मादलको तालमा उफ्रिरहेका देखिन्थे । कतै घाटो, कतै सेर्का, कतै रोधी, कतै कृष्णचरित्र, कतै घ्याप्रे पोचु । गाउँ एउटा रंगमञ्चजस्तै बनेको थियो । एउटाले मात्र गरेर के हुन्छ भन्दै हामीले धेरै गल्ती गरिरहेका हुन्छौँ । तर, एकजनाले चाह्यो भने के केसम्म गर्न सकिन्छ भन्ने उदाहरण हो, घलेगाउँ ।

गाउँमा आउने ६० जनाभन्दा बढी कलाकारलाई गाउँलेले आफ्नो संस्कृतिसहित स्वागत गरे । प्रेम निरन्तर लागिरहे । राजधानीमा संस्कृति प्रदर्शन गर्दै आर्थिक संकलन गरे । महोत्सवलाई निरन्तरता दिँदै गए । सरकारी बजेट निकासा गर्दै होमस्टे सञ्चालन गर्न थाले । अनि घलेगाउँमा देखिन थाले आन्तरिक पर्यटक । पर्यटन बोर्डले २००३ को पर्यटन वर्षमा घलेगाउँलाई पनि जोड्यो । योसँगै देशका प्रतिष्ठित व्यक्ति पनि घलेगाउँ उक्लन थाले ।

अहिले घलेगाउँका प्रत्येक परिवार समृद्ध छन् । घरमै बसेर मासिक ३०, ४० हजार रुपैयाँ आम्दानी गर्छन् । हरेक दिन तीन सयभन्दा बढी पर्यटक घलेगाउँ भित्रन्छन् । ०७०, ०७१ र ०७२ को डाटा हेर्दा पनि आन्तरिक पर्यटकको संख्या मात्र एक लाख भन्दा बढी छ । बाह्य पर्यटकको संख्या १५ हजारको वरिपरिमा छ । पर्यटक पुग्छन् अनि अर्गानिक खाना र दृश्यमा रमाउँछन् । अचेल औषधि उपचार, पानी, सडक, इन्टरनेट केको सुविधा छैन घलेगाउँमा ?

बिहान उठ्नेबित्तिकै घरआँगन, टोल सफा गर्छन् । होमस्टे छ । प्रत्येक घरमा पर्यटक बस्ने छुट्टै घर । त्यसलाई चिटिक्क पार्छन् । अनि दिल खोलेर पर्यटकको स्वागत गर्छन् । गाउँलेको आत्मीय स्वागतले पनि होला, घलेगाउँ पुगेको हरकोहीले फर्कनेबित्तिकै अरू धेरैलाई सिफारिस गर्छन् ।

प्रेमले अरू थुप्रै काम गरे । गाउँमा गोर्खा पार्क निर्माण गरेका छन् । संसारको सबैभन्दा उचाइमा रहेको चिया बगान घलेगाउँमै छ । यस्ता विशेषताले पर्यटकलाई थप लोभ्याएको छ । आफूले देखेको सपना साकार भएकोमा प्रेम निकै खुसी छन् । भन्छन्, ‘ग-यो भने केही पनि असम्भव छैन ।’