बागलुङ, २७ बैशाख । बागलुङको काँठेखोला गाउँपालिकामा एमाले, जनमोर्चा, माओवादी केन्द्र र राप्रपाबीच चुनावी तालमेल भएको छ । उक्त गाउँपालिकामा विजयी बन्ने लक्ष्यका साथ चुनावी तालमेल गरेका राजनीतिक दलका साझा उमेदवारहरु यतिबेला जनताको घरदैलोमा मत माग्न व्यस्त छन् ।
नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाका बीचमा चुनावी तालमेल गरेर अगाडि बढेका राजनीतिक दलहरुले नेकपा एमालेका जिल्ला सदस्य अम्मरबहादुर थापालाई अध्यक्षको रुपमा अगाडि बढाएका छन् । थापाको नेतृत्व चुनावी मैदानमा होमिएका दलहरुले राष्ट्रिय जनमोर्चाका अर्जुन खत्रीलाई उपाध्यक्षमा अगाडि बढाएका छन् ।
८ वटा वडाहरु मध्ये वडा नं. १ मा वडा अध्यक्ष, दलित महिला सदस्य र एक खुल्ला सदस्यमा माओवादी केन्द्र, महिला सदस्य र एक खुल्ला सदस्यमा नेकपा एमालेका उमेदवार चुनावी मैदानमा छन् ।
यस्तै वडा नं. २ मा वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्यमा नेकपा एमाले तथा एक खुल्ला सदस्यमा माओवादी केन्द्रका तर्फबाट उमेदवारी दिएका छन् ।
वडा नं. ३ मा वडा अध्यक्ष, दलित महिला सदस्य र एक खुल्ला सदस्य नेकपा एमालेका तर्फबाट, एक महिला सदस्य माओवादी केन्द्र र एक खुल्ला सदस्य राजमोका तर्फबाट रहेका छन् ।

वडा नं. ४ मा वडा अध्यक्ष, दलित महिला सदस्य, र एक खुल्ला सदस्यमा राजमोका तथा महिला सदस्य र एक खुल्ला सदस्यमा नेकपा एमालेका उमेदवार रहेका छन् ।
यस्तै वडा नं. ५ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष, दलित महिला सदस्य, नेकपा माओवादी केन्द्रका तर्फबाट महिला सदस्य र एक खुल्ला र राप्रपाका तर्फबाट एक खुल्ला सदस्य रहनु भएको छ । सो वडामा राप्रपाका उमेदवारले गाई चिन्ह लिनु भएको छ भने अन्य सबैले सूर्य चिन्ह मार्फत चुनावी मैदानमा रहनु भएको छ ।
वडा नंं ६ तल्लो बिहुमा नेकपा एमालेले वडा अध्यक्ष र दलित महिला, नेकपा माओवादी केन्द्रका महिला सदस्य र एक खुल्ला सदस्य तथा राप्रपाका एक खुल्ला सदस्य साझा प्यानलको तर्फबाट मैदानमा हुनुहुन्छ ।
वडा नंं ७ रेशको वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, दुई खुल्ला सदस्यमा एमालेका तर्फबाट उमेदवारी दिएका छन् ।
वडा नंं ८ लेखानीमा पनि वडा अध्यक्ष सहित सबै चारवटै पदमा एमालेकै तर्फबाट उमेदवारी परेको छ ।
एमालेको नेतृत्वमा बनेको साझा प्यानलका सबै उमेदवारहरु यतिबेला जनताको घरदैलोमा उच्च बनोबलका साथ चुनावी मैदानमा होमिएको एमाले बागलुङका सचिवालय सदस्य तथा काँठेखोला गाउँपालिकाका संयोजक अञ्जु जिसीले जानकारी दिनुभयो ।












प्रतिक्रिया