८ मंसिर २०८३, मंगलबार

कानून दिवसमा प्रधानन्यायाधीशले यसरी लिइन् नेताहरुको सातो! प्रधानमन्त्री र सभामुख गएनन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले मंगलबार परेको कानून दिवसको अवसरमा नेताहरुको सातो खानेगरी सशक्त सम्बोधन गरेकी छन् ।

भर्खरै सत्तारुढ दलको महाअभियोग खेपेकी कार्कीले ६५ औं कानुन दिवसका अवसरमा सर्वोच्च अदालतमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वतन्त्र र सक्षम न्यायपालिका लोकतन्त्रको धरोहर भएकाले जनताको हकअधिकार प्रतिकूल क्रियाकलाप गरिनु कोही कसैको हितमा नहुने चेतावनी दिइन् ।

‘न्यायपालिका एउटा मान्यता र पद्धतिमा चल्ने राज्यको एक संवेदनशील निकाय हो, कुनै वर्ग वा व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकाको स्थापित मूल्य र मान्यतामा कहीँ कतैबाट अतिक्रमण हुनु कसैको पनि हितमा हुँदैन्’ राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी समारोहबाट चेतावनी दिँदै उनले भनिन्– ‘न्यायपालिकाको स्वतन्त्रतामा कुठाराघात भएमा कानुनको शासन धरमराउँछ, प्रजातन्त्र डगमगाउँछ, नागरिकका हकअधिकार प्रवर्द्धन कठिन हुन पुग्छन् ।’

नेपाली जनताको त्याग, समर्पण र बलिदानको परिणामस्वरुप जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन राष्ट्रिय प्राथमिकताको सर्वाधिक महत्वपूर्ण विषय बनेको बताउँदै उनले मानव अधिकार, कानुनको शासन, संविधानवाद र समावेशीतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नुपर्नेमा जोड दिइन् ।

प्रधानन्यायाधीश कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका अङ्गहरु आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं राज्यका प्रमुख अङ्गहरु एक आपसमा प्रतिस्पर्धी नभएर सहकार्यताको भावनाका साथ आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

प्रधानमन्त्री र सभामुख अनुपस्थित, परम्परा तोडे

कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती सहभागी भएनन् । हरेक वर्ष सर्वोच्च अदालतले आयोजना गर्ने कानून दिवसमा सहभागी हुने परम्परा तोड्दै प्रधानमन्त्री र सभामुख उपस्थित नभएका हुन् । यसको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोगलाई हेरिएको छ । साथै सरकारका कानूनी सल्लाहकार एवं महान्यायाधिवक्ता रमन श्रेष्ठ पनि अनुपस्थित थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली पनि उक्त कार्यक्रममा सहभागी भएनन् ।

सरकारका तर्फबाट सञ्चारमन्त्री सुरेन्द्र कार्कीमात्रै सहभागी भए । समारोहमा पूर्वप्रधानन्यायाधीशहरु, प्रधान सेनापति, मुख्य सचिव, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका न्यायाधीश तथा कानुनव्यवसायीको उल्लेख्य सहभागिता थियो ।