८ मंसिर २०८३, मंगलबार

चुनावअघि बजेट ल्याएर जनता प्रभावित पार्ने कार्य एमालेलाई स्वीकार्य छैन्ः नेता नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । नेकपा (एमाले) नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि आफ्नो पार्टीले आर्थिक सामाजिक रुपान्तरणको अगुवा शक्ति हुने बताउनुभएको छ ।

सो पार्टीको प्रचार विभागले आज यहाँ आयोजना गरेको दैनिक प्रेस ब्रिफिङ कार्यक्रममा उहाँले राष्ट्रियता र लोकतन्त्रको पहरेदारका रुपमा रहेकोले एमालेलाई विजयी गराउन सबैसंग आग्रह गर्नुभयो ।

नेता नेपालले भन्नुभयो– “सत्ता गठबन्धनका दलले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएर अलोकतान्त्रिक काम गरे, त्यो अदालतको मानमर्दन र सरकारको मातहतमा अदालतलाई राख्न खोजिएको घटना हो तर अदालतकै पछिल्लो फैसलाले यसलाई बचाएको छ ।”

एमाले दबाबका कारण वैशाख ३१ गते स्थानीय तहको निर्वाचन तय भएको र प्रतिपक्षसँग परामर्श गरी जेठ ३१ मा दोस्रो चरणको निर्वाचनको मिति तय गरिएको बताउँदै उहाँले पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा एक महिनाको लामो ग्याप हुनु विडम्बना हो भन्नुभयो ।

नेता नेपालले “बजेट ल्याएर जनतालाई प्रभावित पार्ने कार्य एमालेलाई स्वीकार्य हुँदैन्, बजेटअघि नै निर्वाचन सकिनुपर्छ, मुस्लिम समुदायको पवित्र पर्वको समयमा जेठ ३१ को निर्वाचन गराउन खोज्नु त्यो समुदायमाथिको अपमान हो भन्नुभयो ।”

स्थानीय तहको निर्वाचनको परिणाम नआउँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारण आयोग र मतभारसम्बन्धी कानुन चाँडै ल्याउन माग पनि उहाँले गर्नुभयो ।

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले पहिलो निर्वाचनको मत गणना तत्काल सुरु गर्ने र दोस्रो चरणको निर्वाचन बजेट अगावै गर्नुपर्ने पार्टीको आवाजलाई सरकारले सुन्नुपर्ने बताउनुभयो । रासस