काठमाडौं, २६ वैशाख । संघीय गठबन्धनले आफ्ना माग पूरा गराउनका लागि सरकारलाई दवाव दिन विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सरकारले लामो समयदेखि गठबन्धनका माग पूरा गर्नेतिर ध्यान नदिएको भन्दै बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको गठबन्धनका संयोजक तथा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
गठबन्धनले वैशाख २९ गते देशव्यापी विरोध सभा र जेठ १ गते देशभरि मोटरसाइकल -याली निकाल्ने निर्णय भएको संयोजक ठाकुरले बताए । उनले भने, ‘माग पूरा गराउन दवाव दिने उद्देश्यले संघर्षका कार्यक्रम ल्याएका हौँ । सरकारले राम्रो रेस्पोन्स गरेन भने जेठ ४ गते बैठक बसेर कडा संघर्ष सार्वजनिक गर्ने छौँ ।’
माग पूरा नभए कडा संघर्षमा जाने गठबन्धनले जनाएको छ । त्यसका लागि आन्तरिक तयारी गरिने ठाकुले बताए ।
उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएपछि ठाकुर नेतृत्वको गठबन्धनले पहिलो पटक संघर्षका कार्यक्रम दिएको हो ।












प्रतिक्रिया