तनहुँ, २६ वैशाख । निर्वाचन आचारसंहिता विपरित कांग्रेसको सभामा भाषण गर्दै कांग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शंकर भण्डारीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले लखेटेको खुलासा भएको छ ।
निर्वाचन आचारसंहिता लत्याउँदै मन्त्री भण्डारी सोमबार भानु नगरपालिका १ सालबिस्नेमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेपछि स्थानीय जनताले विरोध गरेको समाचार आएको थियो । तर, विरोध गर्ने स्थानीय जनता नभई प्रतिस्पर्धी पार्टी एमालेका कार्यकर्ता थिए । उनीहरुको विरोधपछि मन्त्री भण्डारी सुरक्षा घेरामा त्यहाँबाट भागेका थिए ।
कांग्रेसमा खैलाबैला, घटनाको निन्दा
यसैबीच नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीमाथि नेकपा(एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ ।
निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको कांग्रेसको आरोप छ । घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो ।
काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले मन्त्री भण्डारीमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्न प्रशासनसमक्ष माग राखेका छन् ।















प्रतिक्रिया