८ मंसिर २०८३, मंगलबार

भूकम्पमा मैले पुर्याएको योगदानको जनताले उच्च मूल्यांकन गरेका छन्ः एमाले उम्मेदवार थापा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत महाविनाशकारी भूकम्पमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै भक्तपुरका जनताले एमाले नेता तथा सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापाको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । जिल्लाका नेतामध्ये सबैभन्दा बढी भूकम्पपीडितको सहयोगमा खटिने, राहत वितरण गर्ने कार्यमा थापाको योगदान अतुलनीय छ । उहाँले आफनै पहलमा भक्तपुरका जनतालाई पुर्याएको योगदानको गुण निर्वाचनबाट तिर्न आतुर रहेको बताउँछन् । एमाले नेता तथा सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार थापासँग स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ, मेयरको उम्मेदवार भइरहँदा यहाँको चुनावी एजेन्डा के–के छन् ?

सर्वप्रथम मेरो मुख्य उद्देश्य नै सूर्यविनायक नगरपालिकालाई ब्यवस्थित ढंगबाट सञ्चालन गरेर सुशासन कायम गरी भष्ट्राचारमुक्त बनाउनु नै हुनेछ । आठ वटा साविकका गाविस गाभेर बनाइएको सूर्यविनायक नगरमा साविकका चित्तपोल, नंखेल, सिपाडोल, कटुञ्जे, गुन्डु, दधिकोट, सिरुटार र बालकोट पर्छन । तर नगरपालिका घोषणा भएर पनि यहाँको जनताले साँच्चो अर्थमा नगरबासीको अनुभूति गरिनसकेकाले उनीहरुलाई नगरबासीको अनुभूति गराउने मेरो योजना छ ।

साथै पूर्वमा साँघादेखि पश्चिममा बालकोट, सिरुटारसम्मको क्षेत्रसम्म नगरपालिका पर्ने भएकाले यो नगरको विकासका लागि सूर्यविनायक नगरपालिकामा रहेका धार्मिक तथा प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्दै स्थानीयलाई रोजगारी दिने योजना अगाडि सारेको छु ।
त्यसैगरी साँघादेखि बालकोटसम्म सडक विस्तार गर्ने, घाम्पेडाँडा, रानीकोटजस्ता ओझेलमा परेका ठाउँलाई प्रचारप्रसारमा ल्याएर पर्यटन क्षेत्रको विकास गर्ने, चरखण्डी, सुशिलाभैरव मन्दिरमा हुने विभिन्न जात्रालगायत नगरभित्रको नेवारी संस्कारलाई संरक्षण गर्ने, नगरलाई धार्मिक पर्यटनको विकास गरी धार्मिक क्षेत्र घोषणा गर्ने (जस्तो केदारनाथको शिरोभागको रुपमा रहेको केदारनाथ महादेवको मन्दिर, साँघाको मन्दिर, सूर्यविनायक गणेश मन्दिर, सुशिलाभैरव मन्दिर, अनन्तलिगेश्वर मन्दिरलगायत नगरमा रहेका मन्दिरको संरक्षण तथा सम्बद्र्धन गरी घोषणा गर्ने योजना बनाएको छु ।

साथै सार्वजनीक पाटी पौवा, मठ मन्दिरलगायतका क्षेत्रमा सार्वजनीक शौचालयको वन्दोवस्त गर्ने, विगतदेखि पूरा हुन नसकेको भक्तपुरको बाहिरी चक्रपत्र पूरा गर्ने, उद्योगधन्दा कलकारखाना स्थापना गरी जनताको आर्यस्रोत र जीवनस्तर माथि उकास्न पहल गर्ने, सूर्यविनायकमा निर्माणधीन राष्ट्रिय प्राण्ी उद्यान क्षेत्रभित्र स्थानीयको स्वमीत्व कायम गराउने, खानेपानी, शिक्षा, स्वास्थ्य र ढल निकासको वन्दोवस्त गर्ने, विकास निर्माणका सवालमा स्थानीयको सुद्यावअनुसार गुरुयोजना बनाएर अगाडि बढी नेपालकै नमुना नगर बनाउने योजना छन् ।
यसका अलवा बाहिरी जिल्लाबाट स्थायी रुपमा बसोबास गरिरहनु भएका महानुभावरुलाई चार आने, आठ आने भनेर गरिने भेदभाव पूर्ण रुपमा अन्त्य गर्र्ने, नगरमा ब्यवस्थित बस्ती बसाल्ने, भूकम्पपीडितको लागि पुर्नबासको वन्दोवस्त गर्ने, भक्तपुरका सर्वसाधारण यातायातको भरपर्दो सुविधाबाट वञ्चित भइरहेकाले भक्तपुरमा बन्द हडतालमा पनि चल्ने गरी ठूला बस सञ्चालन गर्ने, नगरभित्र ब्यवस्थित आधुनिक अस्पताल स्थापना गर्र्ने, नगरबासीको लागि वडावडामा भरपर्दो एम्बुलेन्स सेवा सञ्चालन गर्ने, खेलकेद क्षेत्रको विकास गर्ने र ठाउँ अनुकुल प्रती जग्गामा खेलकुद मैदान बनाएर खेलाडी तयार गर्ने, कृषियोग्य जमिन नबिगारी कृषि क्षेत्रमा लाग्ने कृषकलाई प्रोत्साहन गराएर कृषकको लागि समयमा विउ र विजनको उपलब्ध गराउने र नगरभित्रको गोरेटो बाटोलाई कालोपत्रे गर्ने तथा स्तरोन्नति गरेर हरेक वडाबासीको लागि यातायाताको सुविधा पु¥याउनेलगायतका मेरो चुनावी एजेन्डा छन् ।

यी त तपाईका चुनावी एजेन्डा भए, निर्वाचनमा अन्य उम्मेदवार पनि छन् यहाँलाई नै जनताले किन मत दिने ?

मैले विगतको स्थानीय निकायको निर्वाचनमा तत्कालीन चित्तपोल गाविसको वडा नम्बर ९ को वडाध्यक्ष हुँदै जिल्ला विकास समितिको सदस्य र ईलाका नम्बर ६ को प्रतिनिधित्व गरेर जनताको लागि गरेको विकास निर्माण, सामाजिक कार्यले गर्दा आदरणीय सूर्यविनायक नगरबासी जनताले मलाई उच्च मूल्यांकन गरि मेयरमा अनुमोदन गराउनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास छ । साथै महाविनाशकारी भूकम्पमा भक्तपुरका जनताको लागि मानवीय सहयोग, राहत वितरण, टहरा निर्माण जस्ता कार्य र केपी ओली सरकारको पालामा भक्तपुरका जनताको समस्यालाई लिएर सिंहदरबारसम्म फाइल बोकेर जनताको विकास निर्माणमा ल्याएको बजेटले मैले जनताको पक्षमा ईमानदार रुपमा काम गछु भन्ने जनताको मन मस्तिष्कमा परिसकेकाले मलाई मत दिई अत्यधिक बहुमतले विजयी गराउनुहुने भन्नेमा ढु्क्क छु ।

भूकम्पपीडितको राहत वितरण र टहरा निर्माण गरेको यहाँले बताउनुभयो । गत महाविनाशकारी भूकम्पमा भक्तपुरका भूकम्पपीडितका लागि यहाँले के–के कार्य गर्नुभयो ?

गत महाबिनाशकारी भूकम्पताका मैले भक्तपुरका भूकम्पपीडितको लागि टहरा बनाउन सहयोग गर्ने, राहत वितरण गर्ने, विभिन्न विद्यालय संघसंस्थालाई सहयोग गर्ने जस्ता मानवीय सहयोगमा निकै सक्रियतापूर्वक कार्य गरे । मेरौ पहलमा भक्तपुरका भूकम्पपीडितको लागि ६ करोडभन्दा बढीको राहत वितरण गरेको यहाँलाई जानकारी गराउन चाहान्छु ।

सम्भवत भक्तपुरका कुनै पनि नेता तथा संघसंस्थाले नगरेको राहत वितरणदेखि टहरा बनाउने कार्य मेरो पहलमा भएको थियो । विभिन्न उद्योगी तथा धनी वर्गसँग सहयोग मागेर विपदमा परेका जनतालाई सहयोग गर्न भनेर मानवीय आस्था नेपाल नामक संस्था समेत गठन ग¥यौ, जुन संस्थामार्फत हाल पनि भक्तपुरका भूकम्पपीडितलाई राहत वितरण, पाल, औषधिउपचार, टहरा बनाउनेलगायतका कार्य भइरहेको जानकारी गराउन चाहान्छु । त्यसबेला भक्तपुरमा भूकम्पताका २ सय ५० वटा टहरा र गाम्रीण भेगमा २ सय वटा टहरा बनाएर भूकम्पपीडितको लागि ठूलो मानवीय सहयोग उपलब्ध गराएका थियौ । साथै पार्टीको केन्द्रीय निर्देशनबमोजिम महिनादिनसम्म क्याम्प खडा गरेर भूकम्पपीडितको सहयोगमा अह्रोरात्र खटिएको यहाँलाई जानकारी गराउन चाहान्छु ।

सूर्यविनायक नगरपालिकामा नयाँ बस्ती विकास पनि तीब्र रुपमा भइरहेको छ, नयाँ बस्ती जो बाहिरी जिल्लाबाट नगरमा बस्नुहुने मतदातालाई के भन्न चाहानुहुन्छ ?

सूर्यविनायक नगरका जनता निकै सचेत भइसक्नुभएको छ । यहाँका नयाँ बस्तीमा बाहिरी जिल्लाबाट आई स्थायी रुपमा बसोबास गर्नुहुने आदरणीय बुद्धिजीवी, पढेलेखेका तथा खारिएका ब्यक्तित्व हुनुहुन्छ । उहाँहरुको बसोबासकै कारण नगरको पश्चिम बेल्ट विकास भएकोमा कुनै दुविधा छैन । त्यसैले मैले त हरेक सार्वजनीक कार्यक्रममा भन्ने गरेको छु, उहाँहरु हाम्रा लागि सुनका टुक्रा, हिराका टुक्रा हुनुहुन्छ । उहाँहरु आएर बसेकै कारण यहाँको विकास निर्माण अगाडि बढेको हो । तर यहाँ कतिपयले उहाँहरुलाई चार आने, आठ आने जस्ता हेपाहा प्रवृत्ति देखाउने गर्नुभएको छ । त्यस्ता संकुचीत सोचलाई पूर्ण रुपमा अन्त्य गरि स्थानीयबाट कसैलाई बिजाउने काम गर्न नदिने मैले अठोट गरेको छु ।

नगरमा मेयरका अरु उम्मेदवार पनि छन् । अरु उम्मेदवार र तपाईमा केही फरक छ की ?

अरु उम्मेदवार र मेरो तुलना गर्दा आकास र पातलको फरक छ । जस्तो म विगतदेखि नै जनताबाट निर्वाचीत भई जनताको सुख दुखमा साथ दिएको उम्मेदवार हुँ । साथै काम गरेको अनुभव र परिपक्कताले मेरो जतिको कार्यकुशलता र विकास निर्माणका सवालमा भिजन बनाउने सायद यो नगरपालिकाको कोही उम्मेदवार पनि छैनन् । अन्यको तुलनामा मैले गरेको कामको मूल्यांकनलाई उच्च सम्मान गर्दै यो नगरलाई हाँक्क सक्ने सक्षम उम्मेदवारको रुपमा आफूलाई अगाडि सारेको छु ।

गत केपी ओली नेतृत्वको सरकारमा भक्तपुरको विकास निर्माणमा निकै लाग्नुभयो । यहाँले भक्तपुरबासीको लागि के कस्ता योजना तथा बजेट ल्याउन सफल हुनुभयो ?

तत्कालीन केपी शर्मा ओलीको सरकारको पालामा भक्तपुरका जनताको विकास निर्माणको लागि सिंहदरबारसम्म फाइल बोकेर दिनरात नभनी काम गरेकै कारण भक्तपुरमा हाल ३५ देखि ४० करोडका योजना सञ्चालन भइरहेका छन् । ग्रामीण भेगको विकासमा राजनीतिका अलवा सामाजिक तथा मानवीय सेवामा पु¥याएको योगदानको कदर निर्वाचनमा जनताले गर्ने नै छन् । कुनै सरकारी पद नभए पनि जनताका समस्यालाई लिएर सिंहदरबारसम्म पुगेर योजना ल्याई जनताको पक्षमा काम गर्ने म जत्तिको उम्मेदवार यो नगरपालिकामा कोही पनि छैनन् । त्यसैले आदरणीय सूर्यविनायकबासीमा मलाई मेयरमा अत्यधिक मतले जिताई नगरको समग्र विकासको ढोका खुला गराउनुहुनेछ भन्नेमा पूर्ण विश्वास लिएको छु ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

आदरणीय नगरबासी महानुभावहरुमा यो पटकको निर्वाचनमा सूर्य चिन्ह्रमा मतदान गरी मलाई अत्यधिक बहुमतले विजयी गराएर नगरको समग्र विकासका साथै मैले माथि उल्लेख गरेबमोजिमको कार्य गरेर देखाउने प्रतिपबद्धता ब्यक्त गर्न चाहान्छु । धन्यवाद ।