
काठमाडौं, २५ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार विद्यासुन्दर शाक्यलाई काँधमा बोक्दाको रमाइलो दृश्य अहिले चर्चामा छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयर आकांक्षी स्थापितले प्रतिद्वन्द्वी मेयर उम्मेदवार शाक्यलाई काँधमा उचालेर एकताको सन्देश दिएपछि एमाले वृतमा यसको सकारात्मक चर्चा सुरु भएको हो ।
विरोधीहरु चकित पार्ने गरी स्थापित र शाक्य एक भएर मैदानमा आएको टिप्पणी हुन थालेको छ । उनीहरुबीचको यो एकता सोमबार निर्वाचनको बिषयमा प्रेस चौतारी नेपालका अगुवाहरुसँगको छलफलका क्रममा देखिएको हो ।

छलफल सकिएपछि स्थापितले शाक्यलाई भने, ‘आउनुहोस् म काँधमा तपाईलाई बोक्छु ।’ यस्तो प्रस्तावले लजाइरहेका शाक्यलाई स्थापितले जुरुक्कै काँधमा बोकिहाले र सँगै रहेका एमाले केन्द्रीय सदस्य एवं मेयर आकांक्षी जीवराज श्रेष्ठले काँधमा राख्न सघाए ।
स्थापितले शाक्यलाई उचालेर जुरुक्कै काँधमा बोकेपछि हलमा हाँसो गुञ्जियो । र, तीनै जनाले ‘यो कार्यकर्तालाई हाम्रो सन्देश पनि हो । काठमाडौंमा एमालेले फराकिलो अन्तरले जित्छ’ भनेका थिए ।











प्रतिक्रिया