काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देश समृद्ध बनाउने ‘मिसन’का साथ चुनावी मैदानमा ओर्लिएको स्पष्ट पारेका छन् ।
सोमबार विहान काठमाडौं वडा नम्बर २१ बाट एमालेको घरदैलो अभियानको उद्घाटन गर्दै ओलीले एमाले आफ्ना नाता– गोता, दाई–भाई, छोरी–ज्वाई जिताउनको लागि होइन देशको लागि लडिरहेको बताए ।
एमालेले जितेपछि काठमाडौ भ्रष्टाचारमुक्त हुने भन्दै ओलीले भने– ‘महानगरपालिकाको मेयर भनेको गुच्चा खेल्ने खेलजस्तो होइन यो एमालेको उम्मेदवारहरुले मात्र गर्न सक्छ, त्यसकारणले सबै नेपाली जनतालाई एमालेको सूर्य चिन्हमा भोट हाली उम्मेदवारलाई जिताउनु आग्रह गर्छु ।’ कुनै पार्टीले होइन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा आफू ढुक्क रहेको उनको विश्वास थियो ।
‘बाहिर हल्ला चलेजस्तो नेकपा एमालेमा कुनै असन्तुष्टी छैन, सबै कार्यकर्ता चुनावी अभियानमा दिनरात खटिरहेका छन्,’ उनले भने– ‘बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौ, भृकुटी कागज कारखाना बेचेपछि हामी हाम्रो घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ ।’
माओवादीप्रति खासै नबालेका ओलीले अगाडि भने– ‘माओवादी भन्ने नै छैनन् पूर्व माओवादीको बारे के भन्नु । कार्तिक, मंसिरसम्म त पर्ख एमालेले बहुमत ल्याएर सरकार बनाएपछि समृद्धि र विकास भनेको के हो त्यतिखेर देख्न पाईन्छ ।’
कार्यक्रममा पार्टीका नेता जीवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, युवा नेता बसन्त मानन्धर लगायतका स्थानीय नेताहरुको बाक्लो बाक्लो सहभागिता रहेको उक्त र्यालीमा पार्टी उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।

















प्रतिक्रिया