बाजुरा, २४ वैशाख । २५ वर्षदेखि सामाजिक विकासमा सक्रिय लालबहादुर ओली आगामी जेष्ठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् । छेडेदह गाउँपालिकाको प्रमुखका रुपमा ओली नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।
सामाजिक विकास र सचेतना फैलाउने अभियानको अगुवाई गरिरहेका ओलीले नमुना गाउँ निर्माणका लागि राजनीति रोजेको बताए । समान निर्माणको अगुवाई राजनीतिले गर्ने हुँदा योजना सहीत गाउँ विकासका लागि उम्मेदवारी दिएको बताए ।
अढाई दशक देखिको विकासे अनुभव र अन्तरदेशीय सम्बन्ध तथा समृद्धीको योजना सहीत उम्मेदवार बनेको हुँ, जनताको समर्थन र सहयोग रहने पूर्ण विश्वास छ, ओलीले भने । ओलीले स्थायी जागिर छोडेर २०४७ सालमा सामाजिक अभियान्ताको भूमिका रोजेका थिए ।
पीसविन नामक गैर सरकारी संस्था मार्फत सामाजिक कार्यमा लागेका ओलीले स्थानीय दशरथ माविमा १३ महिना निशुल्क पढाउने काम पनि गरे । विद्यालयलाई नमुना बनाउने लक्ष्य सहीत अध्यायपन कार्यमा संलग्न ओलीलाई तत्कालित अवस्थामा काँग्रेसले काम गर्न अवरोध गरेका थिए । पछि उनले गाउँमा सरसफाइ अभियान सञ्चालन गरे ।
गाउँमा हुने छुवाछुत, विभेद र सामाजिक कु मान्यताका विरुद्ध एक्लैले संघर्ष गरेर २०५० सालमै गाउँमा दलित र गैर दलित बीच सहभोज समेत आयोजना गरे । जुन कार्यबाट साविक आटीचौरका दलित समुदाय प्रभावित बनेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो सम्बन्ध र सम्पर्क राख्ने ओली पछिल्लो समय पीसविन नामक गैर सरकारी संस्था मार्फत सामाजिक अभियानमा थिए । एमाले निटक मानव अधिकार एलाईन्सको केन्द्रीय उपाध्यक्ष समेत भएका ओलीले गाउँको नमुना विकासकै लागि उम्मेदवार बनेको बताएका छन् ।
ओली उम्मेदवार बनेपछि छेडेदह गाउँपालिकाका स्थानीयले पनि पार्टी राजनीति भन्दा माथि उठेर सहयोग गर्ने बचन दिएको श्रोतको दाबी छ । टिकट एमालेबाट पाएपनि सिंगो गाउँपालिकाको विकास गर्ने योजना ओलीसँग भएकोले समर्थन गर्ने काँग्रेस जिल्ला कार्य समितिका सदस्यले भने ।
काँग्रेस एमाले भनेर झगडा गर्ने, नबोल्ने संस्कार अन्त्य हुनु पर्छ, योग्य क्षमतावान र सक्षम व्यक्तिलाई नरोज्यौं भने हामी धेरै पछि पर्न सक्छौं, नाम नबताउने सर्तमा उनले भने । काँग्रेसबाट उम्मेदवार छनोट भएका छैनन्, अनुहार मध्ये ओली नै उत्तम देख्छु,उनले थपे ।
छेडेदह गाउँपालिका पाँच वटा साविक गाविस मिलेर बनेको छ । गाउँपालिकामा ९६७७ मतदाता संख्या छ । खप्तडको स्वामित्व समेत रहेको गाँउपालिकामा सडक सञ्जाल काँडा जयवागेश्वरी बाहेक सबै वडामा पुगेको छ । मसँग नमुना गाउँ बनाउने योजना छ । वडातहबाट पनि राम्रो टिम आउँने विश्वास लिएको छु,ओलीले भने ।
गाउँपालिकामा गएर उम्मेदवारी दिनु पर्ने अरु कारण नै थिएन, आफ्नो गाउँ आफै बनाएर अरुका लागि सिक्न योग्य विकासको रुप देखाउन लागेको ओलीको भनाई छ । “छेडेदह गाउँपालिका – सभ्यता, विकास र समृद्धिको नमुना भन्ने नाराका साथ पाँच वर्षे योजना समेत निर्माण गरेका छन् । उनका योजनामा प्राविधिक विद्याललय देखि आलु खेतीको जोन बनाउनेसम्मका छन् ।












प्रतिक्रिया