
चितवन, २४ वैशाख । चितवनको खैरहनी नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शनिबार राति खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा ८ च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।
बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उहाँले बताउनुभयो । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।
यता, धादिङमा नेपाली कांग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् ।
धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।
बा १२ च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया