चितवन, २३ वैशाख । भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार देवी प्रसाद ज्ञवालीले लोकतन्त्रप्रेमी महानगरवासीले आफूलाई मतदाता गरी विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
पश्चिम चितवनको साझापुरमा आज (शनिबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवारी फिर्ता लिएपछि लोकतन्त्रको रक्षाका लागि यसका पक्षपातीहरुले आफूलाई मत दिएर सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कांग्रेसले मेयरमा उम्मेदवारी फिर्ता लिएपछि लोकतन्त्र पक्षधरहरुले मलाई हौसला दिईरहनु भएको छ ।”
लोकतन्त्रका खातिर भएका हरेक आन्दोलनमा एउटै मोर्चा बनाएर सँगसँगै सडकमा उत्रिएको कांग्रेस प्रतिस्पर्धाबाट बाहिरिदा आफूलाई पनि दुःख लागेको बताउँदै ज्ञवालीले भन्नुभयो “कांग्रेस बाहिरिए पनि लोकतन्त्र निर्वाचनबाट बाहिरिनु हुँदैन ।” कांग्रेसको केन्द्रीय नेतृत्वले भरतपुरका कार्यकर्ताको भावनामा ठेस पुर्याएको बताउँदै उहाँले लोकतन्त्रको रक्षाका लागि आफू दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कांगे्रसी मित्रजन पार्टीको केन्द्रीय नेतृत्वले तपाईहरुलाई धोका दिएपनि देवी ज्ञवालीले कहिल्यै धोका दिने छैन ।”
महानगरको समृद्धिका लागि आफू संकल्पित रहेको बताउँदै ज्ञवालीले कविलासको चौकीडाँडादेखि मेघौलीको गोलाघाटसम्म समानुपातिक ढंगले विकास गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा उपमेयरका उम्मेदवार दिव्य शर्मा आचार्यले कुशासनका विरुद्ध आफूले कानुन डण्डा चलाउने बताउनुभयो । ग्रामीण भेगका आमा दिदी बहिनीहरुको समस्या आफूले नजिकबाट बुझेको बताउँदै उहाँले समस्या समाधानका लागि सधैं लडिरहने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।















प्रतिक्रिया