काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिका नेतृत्व गरेको कांग्रेसले अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने बताएका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसबाट उम्मेदवार बनेकाहरूको पक्षमा मत माग्न शनिबार वडा नम्बर दशमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसको नेतृत्वमा ल्याइएको संविधानको रक्षा गर्नका लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताए ।
‘कांग्रेसको नेतृत्वमा मुलुकले नयाँ संविधान पायो । कांग्रेसले नै अहिलेसम्म राजनीतिक क्रान्तिको नेतृत्व गर्दै आएको छ’, कांग्रेस नेता सिंहले भने, ‘अब कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्छ । स्थानीय तहको निर्वाचनमा धेरै ठाउँहरूमो कांग्रेसको जित सुनिश्चित छ ।’
मुलुकलाई कांग्रेसले मात्रै शान्ति र समृद्धिको मार्गमा अगाडि बढाउन सक्ने नेता सिंहले दाबी गरे । उनले भने, ‘स्थानीय तहको निर्वाचन कांग्रेसका लागि धेरै महत्व राख्छ । चुनावमा मतदाताले कांग्रेसलाई नै विश्वास गर्छन् ।’
कांग्रेसले नागार्जुन नगरपालिकाको मेयर पदमा मोहन बस्नेत र उपमेयरमा कल्याणी खड्कालाई उम्मेदवार बनाएको छ ।











प्रतिक्रिया