
काठमाडौं, १९ बैशाख । स्थानीय तहको चुनावको लागि उम्मेदवार मनोनयन दर्ताकै दिन नेपाली कांग्रेस जुम्लामा विवाद चुलिएको छ ।
चन्दननाथ नगरपालिकाको मेयर पदको उम्मेदवारमा विवाद चुलिएको हो । कांग्रेसबाट केन्द्रले नेतृ कान्तिका सेजुवाललाई टिकट दिएपछि असन्तुष्ट स्थानीय कार्यकर्ताले विरोध जनाएका छन् ।
विवाद उत्कर्षमा पुगेपछि कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् ।
उनीहरुले समग्र कांग्रेस जुम्लाले चयन गरेको व्यक्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई टिकट दिएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीले सेजुवाललाई टिकट दिए पनि अर्को पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको छ ।
कान्तिका सेजुवाल पूर्वजिल्ला सभापति मानव सेजुवालकी श्रीमती हुन् । उनले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी समेत दर्ता गरिसकेकी छन् ।
यसअघि जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालीबाट सिफारिस गरेको थियो । कार्यकताहरुले सांसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा समेत माग गरेका छन् ।











प्रतिक्रिया