काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् ।
आइतबार अपराह्न प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा लगायत घटनाक्रमपछि सोमबार विहान शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति भण्डारीले पछिल्लो घटनाक्रमबारे जिज्ञासा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपतिले प्रधानन्यायाधीश कार्कीमाथि किन महाअभियोग लगाइयो भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेकी थिइन् । जवाफमा प्रधानमन्त्रीले महाअभियोग व्यवस्थापिका–संसदभित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट पार्दै परिस्थितीवश बाध्य भएर कार्कीविरुद्ध महाअभियोगमा जानुपरेको जवाफ दिएका थिए ।
यस्तै, भेटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोगका साथै, पछिल्लो राजनीतिक घटनाक्रम र स्थानीय तहको निर्वाचनबारे पनि गम्भीर छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचनका विषयमा सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका थिए । ‘घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन्’ – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले भने । महाअभियोगले निर्वाचन प्रभावित नहोस भन्ने चाहना समेत राष्ट्रपतिले व्यक्त गरेको सल्लाहकार आचार्यले बताए ।
करिब डेढ घन्टा भएको भेटवार्तामा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।












प्रतिक्रिया