काठमाडौं, १८ वैशाख । संविधान संशोधनलाई लिएर राप्रपाभित्र विवाद र मतभेद बढेपछि संकटमा परेका उपप्रधान एवम् गृहमन्त्री समेत रहेका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा बिहान एघार बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले मुलुकको विकसित राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन तयारी तथा महाअभियोग प्रस्ताव लगायतका विषयमा छलफल हुने जानकारी दिए । ‘अध्यक्ष ज्यूले समग्र राजनीतिक विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ’, उनले भने, ‘विशेष गरेर निर्वाचन र सरकारका विषयमा केन्द्रित रहेर छलफल हुन्छ ।’
राप्रपाका सांसद रामकुमार सुव्वासहितका दश जना सांसदले संविधान संशोधनको विधेयकविरुद्ध आफूहरू विपक्षमा उभिने चेतावनी दिएपछि अध्यक्ष थापा क्रुद्ध बनेका छन् ।
हुन त अध्यक्ष थापाले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्तावलाई लिएर सरकार छाड्नेसम्मको चेतावनी ट्वीटमार्फत दिइसकेका छन् । उनले कार्यसम्पादन समितिबाट के निर्णय गर्ने हुन् हेर्न बाँकी छ । थापालाई सरकार नछाड्न पनि पार्टीभित्रैबाट दवाव छ ।











प्रतिक्रिया