काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २१ गते संविधान संशोधनको विधेयक छलफलका लागि पेस गरिने भन्दै वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् ।
संसदको आइतबारको बैठकपछि सम्वाददाताहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले वैशाख २१ गते संविधान संशोधनको विधेयक पनि पारित हुने बताए । ‘वैशाख ३१ गते चुनाव हुन्छ’, उनले भने, ‘वैशाख १९ गते नोमिनेशन हुन्छ । त्यसैका लागि हामीले माननीयहरूलाई नोमिनेशनमा जानुस् भनेर समय दिएका हौँ ।’
नोमिनेशन सकेपछि निर्वाचनको वातावरण बन्ने बताएका दाहालले भने, ‘विकसित घटना क्रम जारी छ । सम्वाद चलिरहेको छ । वैशाख २१ गते विधेयकमा छलफल हुन्छ ।’
व्यवस्थापिका संसदको बैठक स्थगित भएपछि खासै मुडमा नदेखिएका प्रधानमन्त्री दाहालले चुनाव भने तोकिएको समयमा हुन्छ भनेर जोड दिएका थिए ।
एकैचरणमा चुनाव गर्नुपर्ने एमालेको अडान
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले वैशाख ३१ गते एकैचरणमा चुनाव गर्नुपर्ने आफूहरूको अडान रहेको बताए । उनले भने, ‘चुनाव एकै चरणमा हुनुपर्छ । तोकिएको समयमा बजेट ल्याइनुपर्छ । बजेटलाई प्रभावित बनाउनु हुँदैन । संविधान संशोधन फिर्ता लिनुपर्छ ।’
वैशाख २१ गते मध्य रातमा निर्णय होला नि: अशोक राई
संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले संविधान संशोधन विधेयक आज अगाडि बढ्न नसकेको विषयमा भने खुलेर जवाफ दिएनन् । उनले भने, ‘यहाँ मध्यरातमा निर्णय हुन्छ । वैशाख २१ गते मध्य रातमा निर्णय होला नि ? सबै कुरा मध्यरातमा हुन्छ ।’
संसदको आजको बैठकले नेपाली कांग्रेसबाट २०४८ सालको आम निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा निर्वाचित नथुनी सिंह दनुवारको निधन भएकोमा समवेदना प्रकट गरेको थियो । सिंहको ८८ वर्षको उमेरमा यही वैशाख १० गते आइतबार निधन भएको थियो । अब संसदको अर्को बैठक वैशाख २१ गते ३ बजे बस्नेछ ।

















प्रतिक्रिया