
काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आज व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ ।
कार्कीविरुद्ध सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । महाअभियोगको प्रस्तावकमा मीनबहादुर विश्वकर्मा छन् भने माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् ।
संसदमा दर्ता भएको प्रस्तावमा काँग्रेसका १८९ र माओबादी केन्द्रका ६० गरि २५९ जनाले हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने गरेका, न्यायाधीशहरुमाथि फरक–फरक व्यवहार गरेको, आईजीपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रोलाई पहिलो बनाएको, न्यायालयमा गुटबन्दी गर्न खोजेको लगायतका अभियोग लगाइएको कांग्रेस नेता विश्वकर्माले जानकारी दिए ।
संवैधानिक प्रावधाअनुसार महाअभियोग दर्ता भएको मितिले ७ दिन भित्र संसदमा पेश गरिसक्नुपर्छ । यसअघि लोकमानसिंह कार्कीलाई हटाउँदा महाअभियोग दर्ता भएकै दिन निलम्बन गरिएको थियो । नेपालको इतिहासमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको पहिलो घटना हो ।
प्रधानन्यायाधीश कार्की स्वतः निलम्बन
संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश सुशिला कार्की पदबाट स्वतः निलम्बनमा परेकी छन् ।
उनी विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको जानकारी संसद सचिवालयले न्याय परिषद् कार्यालयमा पठाइसकेको परिषद सचिव नहकुल सुवेदीले बताए ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सम्बन्धित पदाधिकारी स्वत निलम्बनमा पर्ने संबैधानिक व्यवस्था छ ।











प्रतिक्रिया