८ मंसिर २०८३, मंगलबार

विधेयक पास गराउन सरकारलाई कति मत पुग्दैन ?

46.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्ष एमालेको चर्को अबरोधका बाबजुद पनि संविधान संशोधन विधेयक पारित गराउनका लागि सरकार एक मत कम देखिएको छ ।

संसदको बैठकमा विधेयक निर्णयार्थ पेश भएमा अहिलेसम्मको तथ्याङ्क हेर्दा एक मत मात्रै अपुग देखिएको हो । तर, सत्तापक्षले त्यो मत पनि अन्तिम समयमा पुग्ने दाबी गरिरहेको छ ।

सरकारले चैत २९ गते संसद् सचिवालयमा संविधान संशोधनको पुरानो विधेयक फिर्ता लिएर नयाँ दर्ता गराएको थियो । सरकारले सो विधेयकलाई पारित गराउन फास्ट ट्रयाकमा काम अघि बढाएको छ ।

यता, शनिबार रातिसम्म संशोधन विधेयकमा ५० वटा पूरक संशोधन दर्ता भएका छन् । ७२ घन्टाको समयावधिमा सत्तारुढ दल र प्रतिपक्ष गठबन्धनको संयुक्त संशोधन दर्ता भएका हुन् । प्रमुख प्रतिपक्ष दल एमालेका तर्फबाट मात्र ३१ वटा संशोधन दर्ता भएका छन् ।

एमालेसहितका प्रतिपक्ष दलहरू संशोधन प्रस्ताव लम्व्याउने रणनीतिमा छन् । संयुक्त र फरक–फरक गरी ४४ संशोधन प्रस्ताव प्रतिपक्ष दलहरूका तर्फबाट दर्ता गराएपछि एमालेसहितका विपक्षी दलहरूप्रति आशंका उब्जिएको छ ।

प्रतिपक्ष दलको माग अनुसार सभामुखले प्रक्रिया अघि नबढाए संशोधन प्रस्तावको दफावार छलफल संसदमा नै हुनेछ ।

संसदमा हाल ५ सय ९३ सांसद् छन् । संवैधानिक प्रावधान अनुसार संविधान संशोधन विधेयक पारित गर्न ३ सय ९६ सांसद् आवश्यक पर्छ ।

प्रतिपक्ष दलको गठबन्धन यसअघि ९ दल थिए । प्रतिपक्षमध्येको जनमुक्ति लोकतान्त्रिक औपचारिक रुपमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरममा बिलय भइसकेको छ । परिवार दल संशोधनको पक्ष वा विपक्षमा स्पष्ट छैन ।

एमाले नेतृत्वको प्रतिपक्ष गठबन्धनमा स्पष्ट ७ दलमात्र छन् । एमालेका १ सय ८१ सांसद् छन् । मालेका ५, नेपाल मजदुर किसान पार्टी ४, राष्ट्रिय जनमोर्चा ३, बहुजन शक्ति पार्टी १, मधेस समता पार्टी १ र बौद्धिक जनतान्त्रिक परिषद् १ सदस्य प्रतिपक्ष मोर्चामा छन् । प्रतिपक्ष मोर्चामा कूल १ सय ९६ सांसद् हुन्छन् ।

सभामुख ओनसरी घर्ती र सद्भावना पार्टीका निलम्बित सांसद सञ्जय साहले मताधिकार पाउने छैनन् ।

यस्तो अवस्थामा सरकारसँग ३ सय ९५ सदस्य हुने छन् । संविधानको व्यवस्था अनुसार संशोधन विधेयक पारितका लागि ३९६ सदस्य आवश्यक पर्छ । यस्तो अवस्थामा अब सरकारलाई प्राविधिक रुपमा दुई तिहाई पुगाउन १ जना सांसद् अझै आवश्यक पर्ने देखिन्छ ।