८ मंसिर २०८३, मंगलबार

घोराहीमा कांग्रेस–एमालेका यस्ता छन् मेयरका उम्मेदवार, माओवादी पुछारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भुपबहादुर डाँगी(कांग्रेस) र नरुलाल चौधरी (एमाले)

घोराही, १५ वैशाख । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्ना चुनावी प्रचार–प्रसारलाई तीब्र बनाएका छन् ।

माओवादी केन्द्रले अत्यन्तै कनिष्ठ व्यक्तिलाई घोराही उपमहानगरपालिकको मेयर पदमा उम्मेदवार बनाएको छ । पराजित हुने भएपछि कनिष्ठ व्यक्तिलाई उम्मेदवार बनाएको स्रोतको भनाइ छ ।

कांग्रेस र एमालेमा मेयर र उपमेयरका आकंक्षी धेरै भएकाले अन्तिम निर्णय भइसकेको छैन । यी दुबै दलको केन्द्रीय नेतृत्वले टिकट दिएर पठाउनेछ ।

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ समूहका जीवन गौतमलाई मेयरको उम्मेदवार बनाएको हो । गौतम घोराहीमा माओवादीभित्र कनिष्ठ नेता मानिन्छन् ।

नारायणकाजी समूहका गौतम माओवादीभित्रै पनि अलोकप्रिय छन् । घोराही उपमहानगरपालिकामा माओवादी केन्द्र पराजित हुने पूर्व संकेत पाएरै संस्थापन समूहले गौतमलाई अगाडि बढाएको हो । पराजित हुने डरले माओवादी केन्द्रका वरिष्ठ र राम्रा नेता ‘ब्याक’ भएका छन् ।

नेपाली कांग्रेसमा झण्डै दर्जन नेताहरू मेयरका लागि अगाडि देखिएका छन् । क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगी, दाङ कांग्रेसका पूर्व सभापति वीरकेश्वरी गौतम, वर्तमान सचिव कमलकिशोर घिमिरे, अर्जुन श्रेष्ठ, हरि रजौरे, भरत न्यौपाने, गोपालराज शर्मा, ध्रुब ज्ञवाली, रणबहादुर पछाइँले मेयरका लागि दाबी गरिरहेका छन् । टिकटका लागि क्षेत्रीय सभापति डाँगीको सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

उपमेयरमा सावित्रा राना, बालिका लम्साल, गोमा रावत, पुष्पा श्रेष्ठ, सुशीला पौडेल, जानुका के.सी. निरजा पोखरेलले दाबी गरिरहेको स्रोतले जनाएको छ । यीमध्ये लम्सालले टिकट पाउन सक्ने कांग्रेस नेताहरूको भनाइ छ ।

नेकपा (एमाले)बाट घोराही उपमहानगरपालिकामा नरुलाल चौधरी र अमर डाँगी मैदानमा देखिएका छन् । महिलाबाट मेयरमा सीता न्यौपानेले पनि दाबी गरिरहेकी छिन् । स्रोतका अनुसार एमालेले चौधरीलाई मेयर र न्यौपानेलाई उपमेयरको उम्मेदवार बनाउने तयारी गरेको छ ।

१९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा कांग्रेस र एमालेका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने दुबै दलका स्थानीय नेताहरू बताउँछन् ।