३ कार्तिक २०८३, मंगलबार

काँग्रेस समर्थित कलाकार एमालेमा ओइरिए, चुनावी गीत सार्वजनिक

17.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको पोखरामा आज आयोजित एक कार्यक्रममा ६७ जना लोकदोहोरी कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरु एमाले समर्थित प्रगतिशिल लोकदोहरी गीत समन्वय समिति तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस समर्थित नेपाल साँस्कृतिक संघ सम्बद्ध लक्ष्मी सुवेदीको नेतृत्वमा कास्की लगायत प्रदेश नं. ४ का विभिन्न जिल्लाबाट उनीहरु एमाले प्रवेश गरेको महासंघ प्रदेश नं. ४ का सचिव सुवास मल्लले जानकारी दिए ।

नवप्रवेशीहरुलाई नेकपा एमाले प्रदेश नं. ४ का ईञ्चार्ज किरण गुरुङ्गले स्वागत गरे । कलाकारलाई स्वागत गर्दै गुरुङले सय मिनेटको भाषण भन्दा कलाकारले गाएको चार मिनेटको गीत शक्तिशाली हुने भन्दै कलाकारहरुको योगदानलाई प्रशंसा गरे ।

त्यस्तै, युवा नेता रविन्द्र अधिकारीले संसदको विकास समिति मार्फत कलाकारहरुले सिर्जना वापत पाउने रोयल्टीको ग्यारेन्टी गर्ने काम आफूहरुले अगाडि बढाएको जानकारी दिए । उनले नेकपा एमाले सँधै कलाकारको पक्षमा रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सह ईञ्चार्ज गणेश तिमिल्सिना, सांसद सीता गिरी ओली, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघ प्रदेश नं. ४ का ईञ्चार्ज मनकुमार श्रेष्ठ, वरिष्ठ लोक दोहोरी कलाकारहरु प्रजापति पराजुली र पुरुषोत्तम न्यौपाने लगायतले बोलेका थिए ।

सोहीअवसारमा कलाकारहरुले ‘आयो एमाले’ बोलको चुनावी गीत पनि सार्वजनिक गरेका छन् । जीवन दाहाल र नारायण बाँस्तोलाको रचना रहेको सो गीतमा जीवन दाहाल, सुरेन्द्र गुरुङ्ग, कृष्ण गुरुङ्ग, लक्ष्मी नेपालीलगायतका कलाकारहरुको स्वर रहेको छ । साथै कार्यक्रममा महासंघ प्रदेश नं. ४ ले प्रकाशन गरेको भित्ते पात्रो पनि विमोचन भएको भित्ते पात्रो प्रकाशन समितिका संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।