८ मंसिर २०८३, मंगलबार

कांग्रेसले एमालेलाई लगायो कठोर आरोप, माओवादी, मोर्चा र राप्रपालाई पनि छाडेन

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसले नेपालको लोकतन्त्र, मानव अधिकार र जनप्रतिनिधिमूलक शासन पटक–पटक दक्षिणपन्थी अतिवाद र वामपन्थी उग्रताको आक्रमण र जोखिममा पर्दै आएको जनाएको छ ।

स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्न मंगलबार ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको घोषणापत्रमा कांग्रेसले नै यस्ता उग्र दक्षिणपन्थी र उग्र वामपन्थी अतिवादका विरुद्ध नेपाली जनतालाई संगठित गर्दै लोकतन्त्र, मानव अधिकार, आर्थिक समृद्धि, सभ्य र भयमुक्त समाजको बलियो आधारशीला खडा गरेको जनाएको उल्लेख गरेको छ ।

कांग्रेसको नेतृत्वमा नयाँ संविधान

कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियानः नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलव्धि मूलक रुपमा लिइएको छ । संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको दाबी गरिएको छ ।

सात दशकदेखि वहुलवादमा आधारित वहुदलीय संसदीय लोकतन्त्र, राजनीतिक र धार्मिक स्वतन्त्रता, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने कांग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको भन्दै घोषणापत्रमा भनिएको छ, ‘यो उपलव्धिप्रति गर्व गर्दै कांग्रेसले अब संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका वहुलवादमा आधारित वहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको संवद्र्धन द्घारा लोकतान्त्रिक समाजवाद–उन्मुख समृद्ध नेपाल निर्माण गर्नेतर्फ देशलाई अघि वढाउनेछ ।’

असहिष्णुता र उग्र राष्ट्रवादको पासो

संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै रहेको कांग्रेसले जनाएको छ । अहिले संसदमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असंहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको आरोप कांग्रेसको छ ।

‘फलस्वरुप कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी भएपनि र संविधान निर्माणमा सहकर्मी भएपनि नेकपा (एमाले) आफू सहभागी सरकारको निर्णय प्रक्रियामा खुला मनले सहयोगी र लचिलो भूमिकामा प्रस्तुत भएन’, घोषणापत्रमा भनिएको छ, ‘संसदीय पद्धति र आचरण अनुरुप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखायो ।’

एमालेको नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असंहिष्णुता झनै बढ्न गएको कांग्रेसले आरोप लगाएको छ ।

‘कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु एमाले नेतृत्वको सरकारद्वारा बदर गरिए’, कांग्रेसले भनेको छ, ‘प्रशासन, न्याय सेवा, कुटनीतिक र शिक्षण क्षेत्रमा पार्टीकरणको प्रक्रिया प्रारम्भ भयो । सरकारका वित्तीय स्रोत र साधन दलको स्वार्थका निम्ति दुरुपयोग गरियो । फलस्वरुप सत्तामा सहभागी दलहरू एमालेसंगको सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भयो ।’

‘सत्तामा रहुन्जेल नेकपा (एमाले) ले संविधान संशोधनद्वारा संविधान सम्वन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत सहजै समर्थन गरेन । बरु उसको अतिवादी राजनीतिक अडानले तराइ–मधेशको आन्दोलन झनै चर्को बन्दै गएको हो’, कांग्रेसको घोषणापत्रमा भनिएको छ ।

एमालेको यो अनुदार प्रवृत्तिले संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया समेत जोखिममा परेको भन्दै कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा साना राजनीतिक दलहरुको पनि महत्व र भूमिका रहेको जनाएको छ ।

एमालेले यो सत्यलाई आत्मसात् गर्न सकेन र उ साना राजनीतिक दलप्रति पनि अनुदार देखिएको कांग्रेसको आरोप छ । ‘एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रकियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुबैलाई संविधान निर्माणको काममा एक ठाउँमा राख्न सक्यो’, घोषणापत्रमा उल्लेख छ ।

मधेस आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, थारु, मुस्लिम लगायतको फराकिलो प्रतिनिधित्व र अधिकारको आन्दोलनप्रति एमालेले देखाएको नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई एमालेले गम्भीर र जटिल बनाउँदै लगेको कांग्रेसको आरोप छ ।

‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ’, कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

मधेस र पहाडबीच मतभेद चर्काउने, मधेसी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुगाएको कांग्रेसले जनाएको छ ।

‘एमालेको वर्तमान नेतृत्वको अदूरदर्शी अडानले संविधान संशोधनको प्रक्रिया र सहमतिको राजनीति जोखिममा परेको छ । संसदीय अभ्यास र देशको विकास प्रक्रियामा समेत यसले नकारात्मक प्रभाव पारेको छ’, घोषणापत्रमा भनिएको छ ।

अस्थिर राजनीतिको लाभ खोज्ने प्रवृत्ति

देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा (माओवादी केन्द्र) ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेको छैन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आवद्ध हुनुको साटो नेकपा (माओवादी केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ । नेकपा (माओवादी केन्द्र) को यो ढुलमुले प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ ।

हठधर्मिताको चक्रव्यूह

मधेश केन्द्रित दलहरु भने आफ्नै हठधर्मिताको चक्रव्यूहमा फँस्दै गएका छन् । मधेशका जनतालाई सधै निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक संवाद र सहमतिलाई कहिल्यै परिणाममुखी बन्न नदिने र आन्दोलनलाई सामाजिक सद्भाव विग्रने सीमासम्म फैलिन दिएर मधेश केन्द्रित दलहरुले मधेशमा अतिवादी सोच र प्रवृत्तिलाई बल पु-याउने गम्भीर गल्ती गरिरहेका छन् । नेपाली कांग्रेस यो आन्दोलनको चक्रव्यूहबाट निस्किएर संविधान संशोधनको माध्यमबाट समस्या समाधानमा अग्रसर हुन मधेश केन्द्रित दललाई आह्वान गर्दछ । मधेशका जनताको अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, भाषा–संस्कृतिको सम्मान र विकास एवं रोजगारीका मुद्दालाई नेपाली कांग्रेसले लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नेछ ।

सत्ता राजनीति र पञ्चायती मोह

लोकतान्त्रिक शक्तिसँग विश्वसनीय सहकार्य र संविधान संशोधनको बाटोबाट देशमा विद्यमान समस्या समाधान गर्न राप्रपा आफ्नो अतृप्त सत्ता राजनीति र पञ्चायत मोहको प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ । नयाँ संविधानलाई निष्ठाका साथ स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी सत्ता राजनीतिको दलदलमा फसाउँदै ल्याएको छ ।

राष्ट्रिय राजनीतिको यो अतिवादी र ढुलमुले प्रवृत्ति राष्ट्र र लोकतन्त्रका लागि जोखिमपूर्ण छ । नेपाली कांग्रेस सबै राजनीतिक दलसँग निरन्तर संवादमा बसेर देशलाई सहमति, सहकार्य, एकता र मेलमिलापको बाटोमा हिंडाउन संकल्पवद्ध छ । अब राजनीतिक दलहरुले सत्ताको निम्ति मात्र दलीय प्रतिस्पर्धा गर्नुको साटो लोकतन्त्र र आर्थिक समृद्धिको मुद्दालाई केन्द्रभागमा राखेर राजनीतिक सहकार्य गर्ने तत्परता देखाउन जरुरी भएको छ । संविधानसँग सम्बन्धित तराई–मधेश, थारु र आदिवासी जनजाति आन्दोलनको असन्तोषलाई संविधान संशोधनको माध्यमबाट समाधान गरी सिङ्गो देशको सामथ्र्य र साधन–स्रोतलाई आर्थिक समृद्धिको एजेण्डामा केन्द्रित गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको निश्कर्ष रहेको छ ।