काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयमा असहमति जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरू, पार्टीको चुनावी घोषणापत्र लगायतका विषयमा छलफल गर्न मंगलबार बसेको स्थायी कमिटी बैठकले बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको संख्या तलमाथि गर्न नपाउने माग गरेको हो ।
एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र मुलुकलाई थप अस्थिरतातिर लैजाने दूराशयपूर्ण उद्देश्यसहित निर्वाचनलाई दुई चरण गर्ने नाममा स्वयम् निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहितालाई उल्लंघन गर्ने, जेठ १५ गते संसदमा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्ने गरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी कतिपय विषयहरूमा बैठकले असहमति जनाएको हो ।
यस विषयमा पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलले आजै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने भट्टराईले जानकारी दिए । ‘निर्वाचन आयोगसँग संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको टोलीले आजै कुरा गरेर एमालेको गम्भिर आपत्ति सहितको लिखित असहमति दर्ज गर्ने निर्णय भएको छ,’ उनले भने– ‘बजेटपछिको निर्वाचन हामीलाई मान्य छैन् ।’












प्रतिक्रिया